त्रिनगर नाकाबाट खाद्यान्न र तरकारीको आयात तीन महिनादेखि ठप्प
2023/11/11, 2:22
 
ss

कैलालीको त्रिनगर भन्सार नाकाबाट खाद्यान्न, तरकारी, फलफूल, कुखुराको दानालगायत वस्तुको आयात तीन महिनादेखि ठप्प भएको छ । सरकारले त्रिनगर भन्सारमा रहेको प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालय बन्द गरेपछि भारत भएर आयात हुने धान, गहुँ, मकै, दलहन लगायत खाद्यान्न, फलफूल, तरकारी, पशुपन्छी तथा दुग्धजन्य वस्तुको आयात २८ साउनदेखि रोकिएको हो ।

प्लान्ट क्वारेन्टिनको टुर मुकाम कार्यालयले यी वस्तुको आयात–निर्यातका लागि अनुमतिपत्र जारी गर्नेसँगै परीक्षणको कार्य गर्दै आएको थियो । तर, क्वारेन्टिन सेवा बन्द हुँदा खाद्यान्न, फलफूल, तरकारीलगायत वस्तुको आयात पूर्ण रूपमा रोकिएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले बताए ।

कञ्चनपुरको गड्डाचौकीमा रहेको प्लान्ट क्वारेन्टाइन मातहत त्रिनगर नाकामा प्लान्ट क्वारेन्टाइनको टुर मुकाम कार्यालयले बिरुवा तथा बिरुवाजन्य उपजको आयात–निर्यातको अनुमति दिनुका साथै परीक्षण गर्ने गरेको थियो । कतिपय उपजको परीक्षण खाद्यले गथ्र्यो । केन्द्रको परिपत्रअनुसार त्रिनगर नाकाको टुर मुकाम कार्यालयबाट सेवा बन्द गरिएको प्लान्ट क्वारेन्टाइन गड्डाचौकीका प्रमुख प्रमोद ठगुन्नाले बताए ।