तिहार अवधिभर सुदूरपश्चिममा २२ दुर्घटनामा १७ जनाको मृत्यु
2023/11/18, 2:12
 
ss

तिहारको अवधीभर सुदूरपश्चिममा सवारी दुर्घटनामा परी १७ जनाको ज्यान गएको छ। तिहारको समयमा सवारी दुर्घटनाबाट १७ जनाको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको हो। प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले कात्तिक १२ देखि ३० गतेसम्म २२ वटा सवारी दुर्घटना भएको र दुर्घटनामा परेर ५४ जना घाइते भएका प्रहरीले जनाएको छ ।

यस्तै दशैँ अवधीभर सुदूरपश्चिममा १४ सवारी दुर्घटनामा ९ जनाको मृत्यु भएको थियो। प्रदेश ट्राफिक प्रहरीको तथ्याङ्क अनुसार दसैँको समयमा ११ जना घाइते भएका थिए। तर, तिहारको समयमा भने दोब्बर बढीको सङ्ख्यामा सवारी दुर्घटनाबाट मानिसको मृत्यु भएको तथ्याङ्कले देखाएको छ। गत वर्षको दसैँ र तिहारमा सुदूरपश्चिममा आठ जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार दशैँको समयावधीमा प्रदेशभरी २ हजार ३३६ सवारी साधन कारबाहिमा परेका छन् ।कारबाहिमा परेका सवारी साधनबाट प्रहरीले १५ लाख ४ हजार रुपैँया राजश्व संकलन गरेको छ। यस्तै तिहारको समयमा प्रदेशभर ४ हजार १२३ वटा सवारीसाधन कारबाहिमा परेका छन् । प्रदेशमा तिहारको समयमा २६ लाख ८१ हजार रुपैयाँ जरिबाना बाफत राज्यश्व असुल गरिएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय, अत्तरियाले जनाएको छ।