धनगढीमा भिषण आगलागी एक अस्पताल सहित ७ गोदाम ध्वस्त (फोटो फिचर)
2023/11/18, 2:33
 
ss

 बजारमा रहेको सारथि अस्पतालसहित आधा दर्जन पसलमा भीषण आगलागी भएको छ । धनगढीमा विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले जनाएको छ । धनगढी १ मा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथि अस्पताल सहितका पसलमा राति करिब १ बजेतिर आगलागी भएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक डिएसपी कुलदिप चन्दले बताए । विद्युत् सर्ट भएर आगलागी हुँदा सारथि अस्पताल, भण्डारी सुज सेन्टर लगायतका पसलमा क्षति पुगेको डिएसपी चन्दले जानकारी दिए । दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा एक्कासि विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । प्रहरीका अनुसार धनगढी, गोदावरी र पुर्नवास नगरपालिकाका चार वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो ।

आगो नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीसहित नेपाली सेनाको तेघरी ब्यारेक र सशस्त्र प्रहरीको ३४ नम्बर गण कैलालीको टोली समेत परिचालन गरिएको थियो । आगलागीबाट भएको क्षतिको यकिन विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ । राती जुत्ताको गोदामहरुबाट आएको आगो अस्पतालमा पुगेपछि कार्यरत चिकित्सक तथा कर्मचारीले थाहा पाएको सारथी अस्पतालका सञ्चालम बेद प्रकास जोशीले बताए । अस्पतालमै आगो पुगेपछि शुरक्षाकर्मी बोलाएर उहाँहरुको सहयोगमा बिरामीहरुलाई सेती अस्पतालमा सार्ने काम भएको उनले बताए । केही सामान्य हलुका समान बाहिर ल्याउन सफल भएपनि ठुला उपकरण ल्याउन नसकिएको उनले बताए । ठुला उपकरणको क्षती हेर्दा ५ देखी ७ करोड हाराहारीमा क्षती भएको जोशीले दावी गरे । उनले सरकारी निकाय र निजि क्षेत्रसंग अस्पताल पुनः सञ्चालनका लागी सहयोग गर्न आग्रह गरे ।

यस्तै यस्तै भण्डारी जनरल स्टोर एण्ड सु सेन्टरका सञ्चालक दल बहादुर भण्डारीले साढे ४ लाख बराबरको समान रहेको गोदाम ध्वस्त भएको बताए । आगो लागेको खबरपछि आफु गोदामसम्म पुग्दा आधा बढी गोदाम ध्वस्त भएको पाएको उनले बताए । शुरक्षाकर्मीले आगो नियन्त्रणमा ल्याएपनि गोदाममा रहेको समान जोगाउन नसकिएको उनले बताए । यस्तो अवस्थामा सरकारी र गैर सरकारी निकायबाट उनले सहयोगको अपेक्षा गरेका छन् । बिमाले सही विवरणबाट सहयोग गर्न र अन्य निकायलेपनि हातेमालो गरे पक्कै फेरी पुरानै अवस्थामा आउन सक्ने भण्डारीको भनाई छ ।

यस्तै आगलागीबाट क्षती भएका क्षेत्रमा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले स्थलगत निरिक्षण गरेका छन् । हमालले राती उपमहानगरको प्रहरी, दमकल र जेसीबी पठाएर आगलागी नियन्त्रण तथा उद्धार गरिएको बताए । अहिलेसम्म पनि उपमहानगरको प्रहरी टोली आगो नियन्त्रणमा ल्याउने कार्यमा रहेको बताउँदै उनले यहाँको यकिन बिवरण जिल्ला बिपद ब्यवस्थापन समितिमा पठाउने र सो समितिको सिफारिशमा सरकारबाट आवश्यक सहयोग मिल्ने अपेक्षा लिइएको बताए । यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले स्थानिय तहबाट आएको बिवरण संघ सरकारसम्म पेष गर्ने बताए । हालको अनुमानित १६ करोड बराबर क्षती देखिएको बताउँदै उनले अब हुने थपघटको बिवरण सहित पेष गर्ने जानकारी दिए । प्रमुख जिल्ला अधिकारी कट्टेलले आगलागीबाट क्षती पुगेका ब्यवसायीहरुको पिडामा मलम लगाउन सरकार तयार रहने बताए ।