कैलालीका उद्योग व्यवसाय सञ्चालनमा कठिनाई, चार महिनादेखि आयात निर्यात ठप्प
2023/11/19, 12:36
 
ss

कैलालीका उद्योग व्यवसाय आयात निर्यात ठप्प भएपछि प्रभावित भएका छन्। कैलालीको त्रिनगर भन्सार नाकामा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय,टुर मुकाम मोहना करिब ४ महिना देखी बन्द हुँदा उद्योग व्यवसायहरू प्रभावित बनेका हुन्।

लामोसमय देखी क्वारेन्टाइन बन्दले आयात निर्यात ठप्प हुँदा उद्योग सञ्चालनमा समस्या भएको व्यवसायीहरुले बताएका छन्। त्रिनगर भन्सार नाका भएर उद्योगका लागि कच्चा पदार्थ भित्र्याउन नसकिदा कैलालीसहित सुदूरपश्चिमका जिल्लाका उद्योगहरु सञ्चालनमा कठिनाई भैरहेको हो। धनगढीस्थित विवेक ग्रुप अफ कम्पनिजका अध्यक्ष विवेक भट्टले त्रिनगर भन्सार नाकाबाट कच्चा पदार्थ ल्याउन नसकिएका कारण उद्योग सञ्चालनमा समस्या भएको बताए ।

प्लान्ट क्वारेन्टाइन बन्द हुँदा आफ्नो मात्रै नभई प्रायः सबै उद्योग सञ्चालनमा समस्या भइरहेको उनको भनाइ छ । जसकारण व्यवसाय पलायन हुने चिन्ता थपिएको बताए। कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको सो कार्यालय गएको साउन २८ गतेबाट बन्द भएको छ । त्रिनगर भन्सारमा विगत तीन वर्षदेखि सञ्चालनमा रहेको प्लान्ट क्वारेन्टाइन कार्यालयलाई सङ्घीय सरकारले एक्कासि बन्द गरेपछि उद्योगका लागि चाहिने विभिन्न किसिमका कच्चा पदार्थदेखि फलफूल आयात निर्यातसमेत ठप्प बनेको छ। त्रिनगर भन्सार भएर धान, गहुँ, मकै, दलहन, फलफूल तथा पशुपन्छी र दुधजन्य वस्तु आयात निर्यात हुन सकेको छैन ।

यी वस्तुको आयात निर्यात ठप्पले खाद्य, तेल, मैदा, दाना, बेकरीसँग सम्बन्धित उद्योग प्रभावित भएका छन्।यस्तै नवीन प्यालेट दाना उद्योग प्रालिका सञ्चालक दिनेश लम्सालले आयात निर्यात ठप्प भएको अहिलेको अवस्थामा उद्योग सञ्चालन गर्न नसकिनेको बताए। एकातिर बैङ्कको चर्को ब्याजदर, त्यसैमा आयात निर्यात ठप्प हुँदा ब्यवसायमा झनै समस्या थपिएको भन्दै प्लान्ट क्वारेन्टाइन यथाशीघ्र पुनः सञ्चालनमा आउनुपर्ने बताए । यदि पुनः सञ्चालनमा नआए उद्योगको चाबी सरकारलाई बुझाउने उद्योगीहरुको भनाइ छ ।

त्रिनगर भन्सार नाकाबाट आयात निर्यात ठप्प भएपछि नेपालगन्ज नाका भएर कच्चा पदार्थ आयात गर्न बाध्य छन्। नेपालगन्ज नाकाबाट सुदूरपश्चिम प्रदेशमा रहेका उद्योगका लागि कच्चा पदार्थ भित्र्याउँदा ढुवानी लागत नै बढी हुने गरेको छ। साउनमा प्लान्ट क्वारेन्टाइन बन्द भएपछि त्यहाँ कार्यरत बाली संरक्षण अधिकृत प्रमोद ठगुन्ना पनि अध्ययनका लागि विदेश गएका छन्। क्वारेन्टाइन कार्यालयले बाहिरबाट आयात हुने तरकारी, खाद्यान्न, फलफूलमा रोग र किरा जाँच गर्दै आएको थियो।

नेपालबाट भारत निर्यात हुने पिना र तेजपत्ता पनि सोही कार्यालयले जाँच गर्ने गरेको थियो। प्लान्ट क्वारेन्टाइन एक्कासि बन्दले आयात–निर्यात ठप्प भई उद्योग प्रभावित भएको भन्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले समेत सङ्घीय सरकारको ध्यानाकर्षण गराएका छन्। उनले राजस्व असुलीमै गिरावट आएकाले कैलाली भन्सार नाकामा स्थायी रूपमा प्लान्ट क्वारेन्टाइन कार्यालय स्थापनाका लागि निर्णय गरिदिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई कात्तिक २० गते पत्र पठाएका थिए।