तरकारी विक्री गर्न नपाएपछि कृषकहरुले हाटबजारमै फाले तरकारी
2023/11/21, 10:37
 
dgfdh

धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर कृषि हाटबजारमा स्थानीय तरकारीहरु फालिएका छन् । हाटबजारमा पुगेका कृषकहरुको परिचयपत्र नविकरण नभएको भन्दै नगर प्रहरीले विक्रीमा रोक लगाएपछि कृषकहरुले तरकारी फालेका हुन् ।

धनगढी उपमहानगरपालिका वडा नम्बर २ मोहना क्षेत्रमा उत्पादन गरिएका लौकी, फुलगोपी लगायतका तरकारीहरु विक्री वितरण गर्न नपाएपछि कृषकहरुले आफैले फालेको नगर प्रहरीले जनाएको छ ।

‘हामी विहानै अनुगमनमा जाँदा कृषक परिचयपत्र मागेका थियौं । हामीले हेर्ने त्यही हो । त्यो नविकरण भएको थिएन’ नगर प्रहरी प्रमुख पदमबहादुर गैरेले भने –‘कार्ड नविकरण गर्न जानु भन्दा उनीहरु आवेगमा आएर तरकारी फालेका हुन् ।’ उनले तीन जना कृषकहरुले तरकारी त्यही फालेको बताए ।

स्थानीय नारायण सत्यालले कृषकहरुले उत्पादन गरेको तरकारीहरु विक्री गर्नमा स्थानीय सरकारले रोक लगाउनु उपयूक्त नभएको बताए । उनले भने –‘हाटबजार सबैको हो । स्वदेशमै उत्पादन भएका तरकारी तथा कृषीजन्य उपजहरु निर्वाध रुपमा विक्री गर्न पाउनुपर्छ ।’ उनले कृषकहरुले हाटबजारमै खुल्ला रुपमा फाल्ने अवस्था आउनु दुखद घटना भएको बताए । उनले कृषकहरुले उत्पादन गरेको तरकारी विक्री गर्न जाँदा नगर प्रहरीले कृषकहरुलाईनै दोषी देखाएर नियन्त्रणमा लगेको बताए ।