डोटीको बडीकेदारमा तीन दिन धार्मिक मेला
2023/11/24, 10:45
 
dfkjfdj

डोटीको बडीकेदारमा तीन दिन धार्मिक मेला लाग्ने भएको छ। सुदूरपश्चिमको धार्मिक एवं पर्यटकीय स्थल बडीकेदार धाममा शुक्रवार, शनिवार र आइतवार धार्मिक मेला लाग्ने भएको हो।

डोटीको बोगटान फुड्सिल गाउँपालिका र बडिकेदार गाउँपालिकाको सीमा क्षेत्रमा पर्ने धार्मिक स्थल बडीकेदार धाममा मङ्सिर ८ र ९ गते मेला लाग्नुका साथै १० गते पूजा गरिने समितिले जनाएको छ। बडीकेदार धामलाई ठुलाकेदारको नामले पनि चिनिँदै आएको । धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले एक महत्त्वपूर्ण तीर्थस्थलको रूपमा चिनिँदै आएको बडीकेदार धामको दर्शन गरेमा मनोकामना पूरा हुने भन्दै ठूलो सङ्ख्यामा भक्तजनहरू जाने गर्दछन्।

धार्मिक, पर्यटकीय तथा ऐतिहासिक दृष्टिकोणले महत्त्व बोकेको बडीकेदार क्षेत्रको विकासका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकाले संयुक्त रूपमा काम गर्दै आएको बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताए।

बडिकेदार धाममा तीन चार दिन अगाडीदेखि नै विभिन्न आस्थाले श्रद्धालु भक्तजनहरू आई कथा लगाउने, विवाह, व्रतबन्ध तथा मुण्डन गर्ने जस्ता शुभ कार्यहरू समेत गर्ने गर्दछन्। समुद्री सतहदेखि २ हजार ८ सय मिटरको उचाइमा रहेको यस क्षेत्रमा तराईका थारू समुदाय तथा भारतका विभिन्न ठाउँका भक्तजनको समेत उल्लेख्य सहभागिता रहने गर्दछ।

बडीकेदार धाममा जान कैलालीको सहजपुर बाट डोटीको विपी नगर, खँड्यौली बजार हुँदै अत्तरकाडासम्म सडकको राम्रो सुविधा रहेको छ। सहजपुरदेखि ५० किलोमिटर सडक कालोपत्र गरिएको हो। सवारी पार्किङ स्थलबाट करिब सवा एक घण्टाको पैदल यात्रामा बडीकेदार धाममा पुग्न सकिन्छ। मेलाको अवसरमा बडिकेदार गाउँपालिकाले मङ्सिर १० गते सार्वजनिक बिदा दिएको छ। गाउँपालिकाले प्रसिद्ध बडिकेदार धाममा लाग्ने मेलाको अवसरमा गाउँपालिकाले एक सूचना जारी गर्दै एक दिन सार्वजनिक बिदा दिएको जनाएको हो।