पहिरोमा हराएका एक जना अझै फेला परेनन्, १८ घर पूर्ण र दुई घरमा आशिंक क्षति
2020/07/05, 7:41
 
pahiro

बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा शुक्रबार राति गएको पहिरोमा पुरिएका एकजना अझै वेपत्ता रहेका छन । पहिरोमा पुरिएका ६ जनाको शव भेटिएपछि एक जना अझै नभेटिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए । वेपत्ता २० वर्षीय गिरी जेठाराको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको भए पनि अझैसम्म शव फेला नपरेको हो । पहिरोमा परेर वेपत्ता भएका एकै परिवारका तीन सहित ६ जनाको शव शनविार नै निकालिएको थियो ।

एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा ८१ वर्षीय दले जेठाराको शव भेटिएको वडाध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए । शुक्रबार राति अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो ।

प्रजिअ भण्डारीले १८ घर पूर्णरुपले क्षति गर्दा दुई घरमा आशिंक क्षति पुगेको बताए । पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि हराएका छन् । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको छ । 

यसैबिच पहिरोबाट विस्थापीत भएका परिवारलाई गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडा सहित राहत वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीका अनुसार संघ र प्रदेश सरकारले हेलिकोप्टर मार्फत पठाएको राहत सामाग्री शनिबार उनीहरुलाई वितरण गरिएको छ ।