कैलालीको खानीडाँडा-फल्टुडेका सडक क्षेत्रमा पर्ने संरचना हटाईदै
2023/11/24, 11:31
 
sdfhx

कैलालीको चुरे गाउँपालिकाले सडक क्षेत्रभित्र पर्ने निर्माण भएका र निर्माण भइरहेका संरचना हटाउने भएको छ । पालिकाले खानीडाडा देखी फल्टुडे सम्मको राजमार्ग सहितका सडक क्षेत्रभित्र निर्माण गरिएका संरचनाहरु भत्काउने भएको हो । त्यसका लागि सडकको क्षेत्राधिकार नापजाँचको कार्य भइरहेको पालिकाले बताएको छ ।

गाउँपालिकाले गत वर्ष असोज १२ गते निर्णय गर्दै सडक दुर्घटना तथा जोखिम कम गर्नका लागि पालिकाको क्षेत्रभित्र रहेका राष्ट्रिय राजमार्गका साथै शाखा सडकहरुमा सडक क्षेत्र मासेर बनाइएका संरचनाहरु हटाउन पालिकाबासीहरुका लागि सूचना प्रकाशित गरेको थियो । असोज २३ गते प्रकाशित गरिएको उक्त सूचनालाई आधार मानेर केही स्थानमा गत वर्ष नै संरचनाहरु भत्काइए पनि बढीजसो स्थानमा अझै पनि संरचनाहरु भत्काउन बाँकी रहेको गाउँपालिकाका अध्यक्ष चक्र बहादुर बोगटीले बताए ।

उनले गत वर्षको सूचनाको अवज्ञा गर्ने स्थानीयबासीहरुका लागि पालिकाले यस वर्ष पुनः कार्तिक २४ गते सूचना प्रकाशित गरेको बताए ।उक्त सूचनाको आधारमा पालिकाले हाल नापजाँचको कार्य गरिरहेको अध्यक्ष बोगटीले बताए । उनले स्थानीय बजार व्यवस्थापन समितिको माग पनि भएकाले पालिकाले उक्त कार्यलाई थप गरेको बताए । स्थानीय खानीडाँडा बजार व्यवस्थापन समितिले पनि पालिकासँग बजारमा सडक क्षेत्रभित्र रहेका संरचनाहरु हटाउन माग गरेकाले पालिकाबाट समन्वय गरिएको बताए । उनले सडक क्षेत्रमा राखिएका संरचनाहरु स्थानीयहरुले आफैले हटाउन थालेको समेत बताए । उनले सडक क्षेत्रका संरचनाहरु भत्काउने मात्रै नभई पालिकामा रहेका व्यापार व्यवसायलाई करको दायरामा ल्याउने कार्यमा पनि गाउँपालिका अग्रसर रहेको बताए ।

पालिकाले बुधबार देखी सडक क्षेत्र नाप्ने काम गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी दत्त भट्टले जानकारी दिए । उनले पालिकामा धेरै सडक राजमार्गसँग जोडिएको र त्यस्ता क्षेत्रमा साघुँरो सडकका कारण दुर्घटनाको जोखिम बढी भएकाले सडक क्षेत्र फराकिलो बनाउन सडक क्षेत्रका संरचना हटाउने कार्य गर्न लागिएको बताए । पालिकाले सूचनाको अवज्ञा गरेको भेटिएमा कानुन बमोजिम कारबाही गरिने समेत जनाएको छ ।

सडक क्षेत्रबाट १०र१० मिटर दाँयाबाँया रहेका टहराहरु हटाउन पालिकाले भनेको छ । चुरे गाउँपालिका अन्र्तगत नै भीमदत्त राजमार्ग समेत पर्ने गर्दछ । सुदूरपश्चिम प्रदेशका पहाडी ७ जिल्लाहरु जोड्ने भीमदत्त राजमार्गमा दैनिक सवारी साधनहरुको चाप हुने गर्दछ । सडक क्षेत्र वरपर रहेका संरचनाहरुका कारण राजमार्ग साँघुरो हूदै गएको छ भने दुर्घटनाको जोखिम समेत बढिरहेको छ । पालिकाले दुर्घटनाको जोखिमलाई मध्यनजर गरेर संरचना हटाउन लागिएको जनाएको छ ।