बझाङको केदारस्युँ गाउँपालिका वडा नम्बर ८ को मल्लेसीमा शुक्रबार राति गएको पहिरोबाट विस्थापित परिवारलाई राहत वितरण गरिएको छ । पहिरोबाट विस्थापित भएका परिवारलाई गृह मन्त्रालयसँगको समन्वयमा खाद्यान्न तथा लत्ताकपडा सहित राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।
संघ र प्रदेश सरकारले हेलिकोप्टर मार्फत पठाएको राहत सामाग्री शनिबार उनीहरुलाई वितरण गरिएको हो । पहिरोबाट विस्थापित परिवारहरु शनिवार स्थानीय विद्यालयमा ओत लागे पनि अब कहाँ बस्ने भन्ने चिन्ता लागेको छ । पहिरोमा परी ७ जनाको मृत्यु भएको छ । ६ जनाको शव फेला परेको छ । एक जना अझै वेपत्ता रहेका छन । पहिरोमा पुरिएका ६ जनाको शव भेटिएपछि एक जना अझै नभेटिएको बझाङका प्रमुख जिल्ला अधिकारी कमलराज भण्डारीले जानकारी दिए ।
वेपत्ता २० वर्षीय गिरी जेठाराको नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको भए पनि अझैसम्म शव फेला नपरेको हो । पहिरोमा परेर वेपत्ता भएका एकै परिवारका तीन सहित ६ जनाको शव शनिवार नै निकालिएको थियो । एकै घरका ४३ वर्षीया रामतीदेवी जेठारा, १६ वर्षीया शान्तिकुमारी जेठारा, १३ वर्षीय बालक प्रयाग जेठारा, ७ बालिका अस्मिता जेठारा, १५ वर्षीया बालिका सन्तु जेठारा ८१ वर्षीय दले जेठाराको शव भेटिएको वडाध्यक्ष गणेशबहादुर बोहोराले जानकारी दिए । शुक्रबार राति अविरल वर्षासँगै गाउँ माथिबाट आएको पहिरोले केदारस्युँ गाउँपालिका–८ को मल्लेसीका २० घर बगाएको थियो ।
प्रजिअ भण्डारीले १८ घर पूर्णरुपले क्षति गर्दा दुई घरमा आशिंक क्षति पुगेको बताए । पहिरोमा स्थानीयका २२ वटा भैँसी, ६५ वटा बाख्रा र २४ वटा गाइगोरु पनि हराएका छन् । ६५ घर परिवार बस्दै आएको बस्तीको बीच भागबाट पहिरो गएपछि गाउँ नै जोखिममा परेको छ । स्थानीयले भोगचलन र अन्न उब्जाउ गर्दै आएको करिब आधा जमिन पहिरोले बगाएको छ ।