कैलालीमा यस्तो ठाउँ पनि, काठे पुल तर्दा शुल्क तिर्नुपर्छ
2023/11/28, 2:26
 
ss

कैलालीमा काठे पुल तर्नका लागीपनि स्थानिय नागरिकले शुल्क तिर्नुपर्ने बाध्यता रहेको पाइएको छ । कैलालीको कैलारी गाउँपालिकाले पालिकाभित्रै ओहोरदोहोर गर्ने मानिसहरूबाट दैनिक रूपमा शुल्क लिने गरेको छ । गाउँपालिकाले महँगो रकममा ठेक्का नै दिएर दैनिक ओहोरदोहोर गर्ने मानिसहरुबाट शुल्क असुली गरिरहेको हो ।

गाउँपालिका भएर मोहना नदी बगेको छ । मोहनापारी वडा नं। ३ र ७ स्थित मोहनपुर, शिवरत्नपुर, हौसलपुरलगायत गाउँहरू पर्दछन् । ती गाउँहरूसँग जोडिएको छ, नेपाल–भारत सिमाना । त्यही मोहना नदीमा गाउँपालिकाले वर्षातमा डुङ्गा र अन्य सिजनमा काठेपुल राख्न ठेक्का दिने गरेको छ । पालिकाले नदीको तीन वटा घाटको लागि ठेक्का लगाएको हो । घाटको लागि ठेक्का पाएका ठेकेदारहरूले दैनिक रूपमा ओहोरदोहोर गर्नेहरूबाट चर्को शुल्क लिने गरेका हुन् । ठेकेदारहरूले पुलमा हिँडेबापत प्रतिव्यक्तिबाट २० रुपैयाँदेखि ५० रुपैयाँ र मोटरसाइकलसहित पुलमा हिँडेको ८० रुपैयाँसम्म लिने गरेका छन् । पालिकाभित्रका तथा बाहिर नागरिकहरू मोहना नदी पारीका गाउँमा रहेका आफन्त कहाँ जाँदा वा कुनै काम विशेषले जाँदा पैसा तिर्नुपर्ने बाध्यताले हैरान भएका छन् ।


कैलालीको कैलारी गाउँपालिका ९ कोइलहीका यम चौधरी खोनपुर घाटको पुल भएर शिवरत्नपुर पुगेका थिए । आफ्नै देश त्यो पनि आफ्नै पालिकामा पैसा तिरेर ओहोरदोहोर गरेपछि उनको मन अमिलो भयो । उनले भने, ‘आफ्नै पालिकामा ओहोरदोहोर गर्दा पनि पालिकालाई शुल्क दिनुपर्ने कस्तो विडम्बना १ यहाँ त भारत जानलाई पैसा लाग्दैन,तर पालिकाभित्रै घुमफिर गर्दा पैसा तिर्नुपर्छ ।’ सँगै रहेका वडा नंं ९ देवीगञ्जका सन्तु चौधरीले अगाडि थपे, ‘हामीले पक्की बनाऊ भनेका छैनौँ । हिँड्न मिल्ने २०÷३० हजार खर्चेर काठको फ्ल्याक राखेर पुल त पालिकाले नै बनाउन सक्छ नि रु यो सरासर पालिकाले बाध्यताको व्यापार गर्दै छ । घुमाउरो ढङ्गको यो असुली धन्दा बन्द गरिनुपर्छ ।’


कुन घाटमा कतिको ठेक्का ?

गाउँपालिकाले मोहना नदीको तीन वटा घाटमा ठेक्का लगाएको हो । गाउँपालिकाका राजश्व शाखा प्रमुख लाहुराम चौधरीका अनुसार खोनपुर घाटको लागि वार्षिक २ लाख ६५ हजारमा ठेक्का दिएको छ । त्यस्तै, गोबरैला घाटको लागि ३६ हजारमा ठेक्का दिएको हो । खोनपुर र गोबरैला घाटको ठेक्का वडा नंं। ३ का तेजराम चौधरीले पाएका छन् । यद्यपि खोनपुरका स्थानीय खोनपुर घाटमा भने, गाउँपालिकाले तोकेको ठेकेदारलाई डुङ्गा तथा पुल लगाउन नदिइ आफै डुङ्गा तथा काठे पुल सञ्चालनमा ल्याएका छन् । मोहना नदीकै भित्तरिया घाटको लागि ५ लाख २१ हजारमा ठेक्का सम्झौता भएको छ । शुल्कमा ठेक्का पाएकाहरुको मनलाग्दी छ । कुनै पनि घाटमा एक रुपता छैन ।

भित्तरिया घाटमा भेटिएका ठेकेदार गणेश महतो भन्छन्, ‘काठको पुल बनाउनमा नै मेरो धेरै लगानी लागेको छ । मेरो लगानी, गाउँपालिकालाई तिर्नुपर्ने ठेक्का रकम जोड्दा १० लाखमाथि छ । त्यो लगानी उठाउनको लागि पनि मैले शुल्क लिनुपर्ने बाध्यता छ ।’ ती तीनै घाट भएर नेपालीहरू किनमेल तथा औषधोपचारको लागि भारतको सीमावर्ती बजार चन्दनचौकी, पलिया, सुडासम्म जान्छन् । ती घाट भएर दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्छन् । तर गाउँपालिकाको असुलीधन्दाबाट ओहोर गर्ने स्थानीय समेत आजित छन् ।

खोनपुर घाटमा पुलमा हिँडेबापत रकम सङ्कलन कार्यमा खटिएका खोनपुरका स्थानीय ठागुराम चौधरी भन्छन्, ‘गाउँपालिकाले लगानी लगाइदिएको भए राम्रो हुने थियो । तर गाउँपालिकाको सेवा दिनेभन्दा कसरी हुन्छ पैसा असुलीमा मात्रै ध्यान छ । ठेक्का दिएपछि केही शुल्क त हामीले लिनै पर्छ ।’ कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले ठेक्का गइसकेको र ठेक्का लिनेहरूबाट बढी रकम असुली भइरहेको गुनासो आफू कहाँ पनि आएको बताए । ओहोरदोहोर गर्नेलाई सेवा दिन आफूले गाउँपालिकामार्फत आवश्यक निर्णय लिने गाउँपालिका अध्यक्ष चौधरीको भनाइ छ ।