
धनगढी–अत्तरिया छ लेन सडकमा पर्ने मनहराखोलामा पुल निर्माणले गति लिन सकेको छैन । बजेट अभावका कारण पुल निर्माणले गति नलिएको बताइएको छ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अगाडि निर्माणाधीन पुलको काम ६० प्रतिशत काम पूरा भएको छ ।

चालु आर्थिक वर्षमा पुल निर्माणका लागि पर्याप्त बजेट नआएका कारण निर्माण कार्यले तीव्रता नलिए पनि निर्माण कम्पनीले काम जारी राखेको महाकाली पुल योजना कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार यस आर्थिक वर्षमा पुलका लागि एक करोड ३५ लाख बजेट आएको सबै रकम भुक्तानी दिइसकेको इन्जिनियर सन्तोष चन्दले बताए ।
उनले अझै एक करोड रुपियाँ रकम भुक्तानी दिन बाँकी रहेको बताए । आव २०७७/७८ मा यो पुलको ठेक्का सम्झौता भएको थियो । उच्चकोटी-शनिदेव-साजेन्द्रेश्वर जेभीले भ्याटसहित सात करोड ८३ लाख ३२ हजारमा ठेक्का पाएर काम गरिरहेको छ । आगामी भदौ २८ गतेसम्म यो पुलको ठेक्का समायवधि रहेको छ । धनगढी–अत्तरिया छ लेन सडक अन्तर्गत तीन वटा पुल निर्माण भइरहेका छन् । मनहराखोला पुलकै केही दुरीमा सुनीखोलामा बनिरहेको पुलको काम भने लगभग पूरा भएको छ ।

आव २०७७/७८ मा ठेक्का पाएर राजेन्द्र निर्माण सेवाले सो पुल निर्माण गरेको छ । आगामी असार १५ सम्म पुल निर्माणको समायवधि रहेको छ । यसै गरी त्रिनगर भन्सारस्थित मोहना नदीमा बनिरहेको पुलको भौतिक प्रगति ६० प्रतिशत पुगेको छ ।
आव २०७८/७९ मा ठेक्का सम्झौता भई पुल निर्माणको काम अगाडि बढाइएको थियो । यस पुलका लागि पर्याप्त मात्रामा बजेट आएका कारण काम तदारुकताका साथ अगाडि बढिरहेको महाकाली पुल योजना कार्यालयले जनाएको छ । १३ करोड १७ लाख रुपियाँमा ठेक्का पाएर रायमाझी कन्स्ट्रक्सन प्रालिले पुल निर्माणको काम गरिरहेको छ । यस पुलको ठेक्का अवधि गत वैशाख २१ मा सकिएको छ ।