डोटीमा स्कूले बालबालिकालाई घरैमा पौष्टिक आहार
2020/07/05, 6:42
 
POSAN

कोभिड–१९ को महामारीले जिल्लामा लामो समयदेखि विद्यालय बन्द रहे पनि स्कूल जान नपाएका विद्यार्थीले ‘शिक्षाका लागि खाद्य’ कार्यक्रमको पौष्टिक आहारयुक्त दिवाखाजा अब घरमै खान पाउने भएका छन्। ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम लागू भएका जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीले आ–आफ्नो घरमै पौष्टिक आहार खान पाउने व्यवस्था गरिएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयले जनाएको छ।

विश्वखाद्य कार्यक्रमको सहयोगमा ‘शिक्षाका लागि खाद्य’ कार्यक्रम जिल्लामा लामो समयदेखि लागू भएको छ। पहिले प्राथमिक विद्यालयमा लागू रहेको यो कार्यक्रम हाल आधारभूत तहका सामुदायिक विद्यालयमा पनि लागू भएको र विद्यालयमा दिउँसो खाजा समयमा विद्यालयमै पौष्टिक आहार पकाएर खुवाउने गर्दै आएको थियो। 

कोरोनाका कारण विद्यालय बन्द रहेका भए पनि विद्यार्थी यसबाट बञ्चित नहोउन् भनेर उनीहरुका घरमा पौष्टिक आहार पु¥याउने व्यवस्था मिलाइएको शिक्षाका लागि खाद्य कार्यक्रम एकाइ कार्यालयका प्रमुख चेतबहादुर बमले बताए। उनका अनुसार हाललाई एक विद्यार्थी बराबर सात किलो चामल र दुई किलो दाल घरैमा उपलब्ध गराइँदै आएको छ। 

विश्वस्वास्थ्य सङ्गठनको मापदण्डअनुसार उक्त पौष्टिक आहारयुक्त खाजा तयार गरिएको एकाइ प्रमुख बमको दाबी छ। यसैक्रममा  शिखर नगरपालिका–११ अन्तर्गतका नौ आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सो पौष्टिक आहारयुक्त खाद्यान्न हस्तान्तरण गरिएको छ। 

सो वितरण कार्यक्रममा जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐर, शिखर नगरपालिकाका प्रमुख सीताराम जोशी, उपप्रमुख धौलीदेवी रावल, पत्रकार लगायतको उपस्थिति रहेको थियो। जिल्लामा हाल १६८ विद्यालयमा यो कार्यक्रम लागू रहेको र ती विद्यालयमा कम्तीमा पनि २० हजार ९८० विद्यार्थी अध्ययनरत रहेका कार्यक्रम एकाइ प्रमुख बमले जानकारी दिए।