बैतडीमा रनिङ सिल्ड खेल्न गएका विद्यार्थीमाथि धारिलो हतियार प्रहार
घटनामा संलग्न भएका छ जना प्रहरीकाे नियन्त्रणमा
2024/01/09, 11:50
 
baitadi

बैतडीको दोगडाकेदार गाउँपालिकाको चौथो राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा सहभागी हुन गएका एक विद्यार्थीमाथि धारिलो हतियार प्रहार भएको छ । दोगडाकेदारको पन्ज्युनयाँ खेलमैदानमा संचालन भइरहेको प्रतियोगितामा सोमबार राती केदार माबि, पिपलकोटका विद्यार्थी विशाल कार्कीमाथि धारिलो हतियार प्रहार भएको हो ।

हतियार प्रहारबाट घाइते भएका १७ वर्षीय कार्कीको स्थानीय गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएका छ । सोमबार साँझ पौने सात बजे उक्त घटना भएको र त्यसलगत्तै प्रहरी परिचालन गरेर घटनामा संलग्न भएका छ जनालाई पक्राउ गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख नन्दराज जोशीले जानकारी दिए । 

‘छिमेकी पालिका डिलाशैनीबाट खेल हेर्न आएका केही युवाले खेलाडीमाथि सोमबार साँझ आक्रमण गरेको खबर आएको थियो । प्रहरीले राती साढे १० बजेसम्म छ जनालाई पक्राउ गरेर नियन्त्रणमा लिएको छ’ प्रहरी निरिक्षक जोशीले भने । 

पक्राउ गरिएकाहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए । स्थानीयका अनुसार राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएकी एक छात्राका बारेमा दुई समुहबीच विवाद भएको थियो । 

सोमबारको खेल सकिए लगत्तै विद्यार्थीको समुह र खेल हेर्न आएका युवाहरुबीच मंचको पछाडि झडप भएको स्थानीय वीरेन्द्र कार्कीले बताए । त्यसपछि चमेलियाको पुल पारि दुबै समुहबीच पुनः झगडा हुँदा विद्यार्थी घाइते भएका हुन् ।

दोगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्कीले रातीको घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको बताए । उनले मंगलवार बिहानै देखि खेल नियमित रुपमा संचालन भइरहेको जानकारी दिए ।