मोहनामा अवैध उत्खनन्, नियमनकारी निकाय मौन
2024/01/24, 12:01
 
ss

कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रूपमा नदीजन्य उत्खनन् तथा सङ्कलन गरिरहेको पाइएको छ। कृष्णपुर नगरको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा नम्बर ३ को सिमाना क्षेत्र पर्ने राजघाटमा अन्धाधुन्ध उत्खनन् तथा सङ्कलन गरिरहेको पाइएको हो।

४ करोड बढीमा ठेक्का पाएको काठमाडौँको कम्पनी सगरमाथा कन्स्ट्रक्सनले अस्तिबाट मोहना सहितका स्थानमा धमाधम काम थालेको हो। ज्ञानलाल श्रेष्ठको सो कम्पनीले राजघाटमा मनपरी रोयल्टी उठाइरहेको हो।  यति मात्र होइन, सो कन्स्ट्रक्सनले अवैध रूपमा राजघाटस्थित मोहना पुल नजिकैको जनताको तटबन्धलाई समेत क्षति पुगाएको बताइन्छ। तटबन्धको भागलाई तोडेर अहिले नदीजन्य पदार्थ लगिरहेको बताइएको हो।

पुल क्षेत्र र तटबन्धबाट कम्तीमा ५ सय मिटरदेखि १ किलोमिटरसम्मको दुरीमा मात्र उत्खनन गर्न पाइने भए पनि सो कन्स्ट्रक्सनले पुल र तटबन्ध नजिकैबाट मापदण्ड विपरीत काम गरिरहेको हो।  सो विषयमा जनताको तटबन्ध कार्यक्रमका इन्जिनियर प्रकाश खड्काले पनि चासो दिएको बताउँदै अनुगमन गरिने र काम रोक्न लगाइने बताए।

यस्तै कृष्णपुर नगरपालिकाका मेयर हेमराज ओझा र निमित्त प्रमुख प्रशासकीय अधिकृत मानबहादुर केसीले पनि ठेक्का लगाइएको स्थानबाट मात्र उत्खनन तथा सङ्कलन गर्न मिल्ने भन्दै अनुगमन गरी थप प्रक्रिया बुझ्ने बताए।  उनीहरूले चाडै इन्जिनियर सहितको टोली निरीक्षणका लागि पठाएर सीमाङ्कन गर्ने जनाए।