पत्रकारमाथि हातपात गर्ने बावु छोरामाथि अनुसन्धान गर्न पाँच दिन म्याद थप
2020/07/06, 7:42
 
pakrau

पत्रकारमाथि हातपात गर्ने धनगढीका बाबुछोरामाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको छ। जिल्ला प्रहरी कार्यालयले दिनेश सञ्चार गृहले सञ्चालन गरेको दिनेश खबर/दिनेश एफएमका वरिष्ठ संवाददाता कमल सावदमाथि दुर्व्यवहार गरी हातपात गर्ने धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का हर्कबहादुर देउवा र उनका छोरा ठक्करबहादुर देउवामाथि अनुसन्धानका लागि पाँच दिन म्याद थप गरिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरेर अनुसन्धान भईरहेको जानकारी दिए। उनीहरु दुवै जनाले दिउँसो सुदूरपश्चिम भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा सावदमाथि दुव्र्यवहार गर्दै हातपात गरेका थिए। दुवै जना विरुद्ध पत्रकार सावदले दर्ता गरेको सार्वजनिक हित समेतको विरुद्ध कसुर गरेको मुद्दामा अनुसन्धानका लागि पक्राउ गरिएको थियो।

कृषि मन्त्रालयबाट माछा पालनका लागि अनुदान लिएर पनि पोखरी निर्माण नगरेको विषयमा समाचार छापेर आफ्नोे बदनाम गरेको भन्दै बुवा छोराले पत्रकार सावदमाथि दुव्र्यवहार र हातपात गरेका थिए। ठक्कर देउवा कैलाली फुटबल संघका सदस्य समेत हुन्।

उनका बुवा हर्क बहादुर देउवाले धनगढी उप–महानगरपालिका वडा नम्व्र ५ मा कृषि मन्त्रालयबाट माछा पालन गर्ने भन्दै एक लाख ४२ हजार ६ सय आठ रुपैँया अनुदान पाएका थिए। अनुदान पाएको एक बर्ष भएपनि अहिलेसम्म वडा नम्वर ५ मा माछापालन सुरु भएको छैन् भने पोखरी समेत निर्माण गरिएको छैन्।