सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता
2024/01/27, 4:33
 
dd

सुदूरपश्चिमका स्थानीय तहहरूको क्षमता विकास गर्न सम्झौता गरिएको छ। प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान डोटीले स्थानीय तहहरूको क्षमता विकासका लागि सम्झौता गरेको हो।

धनगढीमा शुक्रवार ‘नेपाल नगरपालिका संघ तथा गाउँ पालिका राष्ट्रिय महासङ्घ प्रदेश समितिका बिच’ समन्वयात्मक तथा समझदारी पत्रमा हस्ताक्षर भएको छ। उनीहरूको बिचमा स्थानीय तहको क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गर्न नेपाल नगरपालिका संघ, प्रदेश कमिटी तथा गाउँपालिका राष्ट्रिय महासङ्घ, नेपाल प्रदेश कमिटीबिच दीर्घकालीन रणनीतिक सम्बन्ध विकास गर्न मुख्यमन्त्री कमलबहादुर शाहसहितका मन्त्रीहरूको सहभागितामा सम्झौता गरिएको हो।

प्रदेश र स्थानीय तहमा निर्वाचित, मनोनीत पदाधिकारी र कर्मचारीहरूको क्षमता विकास गर्नका लागि आपसी सहकार्य तथा समन्वय गर्ने, स्थानीय तहले निर्माण गरेका संस्थागत योजना, नीति तथा कार्यक्रमहरूलाई पुनरावलोकन गरी आवश्यकता अनुसार योजना तर्जुमा गर्न सहजीकरण गर्ने र स्थानीय तह सञ्चालन गर्न आईपर्ने कानुनी जटिलता समाधान गर्न आवश्यक सहजीकरण गर्न सहकार्य तथा समन्वय गर्ने सहमति भएको हो।

प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गेहेन्द्र बमका अनुसार सुदूर पश्चिम सरकारका मुख्य मन्त्री शाह, सामाजिक विकास मन्त्री झपट साउँद, आन्तरिक मामिला मन्त्रि शिवराज भट्ट, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, प्रमुख सचिव डा हरि प्रसाद लम्साल, नेपाल नगरपालिका महासङ्घ केन्द्रीय र प्रदेश कमिटीका पदाधिकारीहरू, गाउँपालिका राष्ट्रिय महासङ्घ केन्द्रीय कमिटीका पदाधिकारी लगायतको सहभागिता रहेको थियो।

मुख्यमन्त्री शाहले संघ तथा महासङ्घ र प्रतिष्ठान बिच स्थानीय तहको क्षमता विकासका लागि भएको समझदारी पत्र अत्यन्तै महत्वपूर्ण रहेको बताए। उनले सुदूरपश्चिम प्रदेश सरकार र स्थानीय तहबिच देखा परेको समन्वयात्मक समस्याहरू न्यूनीकरण हुने बताए।