कैलालीको टीकापुरमा सेनाको ब्यारेक राखिँदै
2024/01/30, 3:33
 
aa

टीकापुरमा नेपाली सेनाको क्याम्प राख्न पहल थालिएको छ । टीकापुर नगरपालिकाले २०७५ सालमै जग्गा उपलब्ध गराउने निर्णय पठाए पनि काम सुरु हुन सकेको थिएन। पुस अन्तिम साता टीकापुर आउनुभएका उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खडकालाई स्थानीयले स्मरण गराएपछि ब्यारेक राख्ने काम अघि बढेको हो। जिल्ला प्रशासन कार्यालय कैलालीले २०७५ असार ३ गते पत्र लेखी जग्गा उपलब्ध गराउन माग गरेको थियो । यसै पत्रका आधारमा टीकापुर नगरपालिका नगर कार्यपालिकाको २०७५ असोज २ गतेको बैठकले जग्गा उपलब्ध गराउने निर्णय गरेको थियो।

निर्णयमा लेखिएको छ, ‘विपद्का घटनाहरू भइरहने भएकाले विपद् व्यवस्थापन, राहत, उद्धार र सुरक्षाका लागि सेनाको ब्यारेक आवश्यक रहेकाले टीकापुर नगरपालिका ५ मा रहेको भगरैया वनको सम्भाव्य क्षेत्रमा बढीमा दश बिघा जग्गा उपलब्ध गराउने निर्णय गरियो ।’ निर्णय कार्यान्वयन गराउन कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले माघ ८ गते स्थलगत अवलोकन गर्दा पहिले दिने भनिएको स्थान उपयुक्त नभएकाले उपल्लो तटमा छुट्टाउन नगरपालिकालाई जिम्मा दिइएको बताए ।

टीकापुर नगरपालिकाका प्रमुखलगायतका जनप्रतिनिधिले सेनाको ब्यारेक राख्न माथिल्लो क्षेत्र भैरवनाथ नर्सरी नजिकको बस्तीका नागरिकको राय लिएका छन् । त्यहाँका स्थानीयले मिश्रित प्रतिक्रिया दिएका छन् । सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मण किशोर चौधरीले विपद्मा उद्धार, सर्पदंश उपचार केन्द्रलगायतका काम नेपाली सेनाले गर्ने भएकाले ब्यारेक आवश्यक भएको तर वडा ५ भन्दा बाहिर हुनुपर्ने सुझाव दिए ।

स्थानीय कलशराम चौधरीले आफ्नो बस्तीका गाई गोरु चर्ने क्षेत्रमा सेनाको ब्यारेक राख्दा समस्या हुने भएकाले बस्तीबाट टाढा हुनुपर्ने बताए । अर्का स्थानीय खगिसरा घर्तीमगरले विकासले पछिपरेको क्षेत्रमा सेनाको ब्यारेक बस्दा स्थानीयलाई पनि लाभ हुने अपेक्षा गरे ।स्थानीयको फरक–फरक प्रतिक्रिया आएपछि टीकापुर नगरपालिकाका प्रमुख रामलाल डंगौरा थारुले नगरपालिकाको मातहतमा रहेको १३२ बिघा जमिनबाट बस्तीलाई कुनै समस्या नहुनेगरी १० बिघा दिने बताए । कर्णाली मोहना नदीले बर्सेनि विपद् ल्याउने टीकापुरमा नेपाली सेनाले सहयोग गर्दै आएको छ ।