शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा शहीद दिवस मनाइयो 
2024/01/30, 3:41
 
ss

शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर शहीद दिवस मनाइएको छ । शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानको आयोजनामा शहीद दिवस मनाइएको हो । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको कार्यालय सुन्दरखालीबाट प्रभातफेरीको आयोजना गरेर शहीद दशरथचन्दको जन्मघर बस्कोटमा पुगेर उनको शालिकमा माल्यार्पण गरिएको छ ।

शहीद चन्दको जन्मघरमा बस्कोटमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको र उक्त सभामा दशरथचन्द नगरपालिकाका प्रमुख पुष्करराज जोशी, प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्मा, सुरक्षा निकायका प्रमुख, प्रतिष्ठानका पदाधिकारी लगायतको सहभागिता रहेको थियो । दिवसको अवसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले शहीदको सम्मानमा शलामी अर्पण गरेको थियो । यस्तै दिवसको अवसरमा प्रतिष्ठानलाई विभिन्न समयमा सहयोग गर्ने व्यक्तिहरुलाई सम्मान समेत गरिएको छ ।

नेपालमा प्रजातन्त्र स्थापनाका लागि प्राणको आहूती दिने जेष्ठ चार शहीद मध्येका दशरथ चन्दको जन्मघरलाई अहिले पाहुना घरको रुपमा विकास गरिएको शहीद दशरथ चन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । शहीद दशरथचन्दको जन्मघरलाई उनको जीवनको श्रोतको रुपमा विकसित गर्ने उद्देश्य रहेको स्मृति प्रतिष्ठानले जनाएको छ । शहीद चन्दको नाममा खोलिएको प्रतिष्ठानले विभिन्न सामाजिक कार्य पनि गर्दै आएको छ । यो प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउनु पर्ने माग उठेको भएपनि अहिले सम्म उक्त माग पूरा हुन सकेको छैन् । 

दशरथ चन्दको जन्म वि. स. १९६० असारमा बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. स. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।

शहीद दशरथचन्दका बारेमा जानकारी गराउन प्रतिष्ठानले काम गरिरहेको भएपनि सरकारी स्तरबाट खासै सहयोग हुन नसकेको स्थानीयहरुले बताएका छन् । यसैबीच शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको २९ औं बार्षिकोत्सव समारोह विभिन्न कार्यक्रमका साथै आजै सम्पन्न भएको छ । शहीद चन्दको जन्मघरमा प्रतिष्ठानको बार्षिकोत्सव मनाइएको हो ।