भूगोल र जनसङ्ख्याका आधारमा योजना
2024/02/01, 1:12
 
dd

स्थानीय तहलाई भूगोल र जनसङ्ख्याका आधारमा ठुला योजना बनाउन सुझाव दिइएको छ । कैलालीको पूर्वी क्षेत्रका स्थानीय तहका जनप्रतिनिधि र राष्ट्रिय योजना आयोगका सदस्यबिच भएको दुईदिने कार्याशाला गोष्ठीमा यस्तो सुझाव दिइएको हो । योजना आयोगका सदस्य डा। रामकुमार फुयाँलले आयोगमा योजना पठाउँदा प्राथमिकताका आधारमा धेरै पालिकालाई समेट्ने ठुलो जनसङ्ख्या र क्षेत्र समेट्ने खालका योजना पठाउन सुझाव दिए ।  

घोडाघोडी बहुमुखी क्याम्पसमा भएको ‘विकासका क्षेत्रको पहिचानः स्थानीय निकायको नीति निर्माण तथा कार्यान्वयन र उच्च शिक्षा प्रदायक संस्थाहरूको क्षमता अभिवृद्धिसम्बन्धी गोष्ठी’ मा पनि आयोगका सदस्य डाक्टर फुयाँलले कम खर्चमा धेरै नतिजा दिने योजना आवश्यक रहेको बताए। उनले पूर्ण रूपमा स्थानीयवासी लाभान्वित हुने र स्थानीय स्रोतसाधन प्रयोग हुने गरेर योजना बनाउन स्थानीय तहलाई सुझाव दिए। शनिबार र आइतबार भएको गोष्ठीमा मोहन्याल, बर्दगोरिया, जोशीपुर गाउँपालिका, भजन, गौरीगङ्गा र घोडाघोडी नगरपालिकाका नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, कार्यपालिका सदस्य, प्रमुख प्रशासकीय अधिकृतलगायतको उपस्थिति थियो । 

स्थानीय तहका जनप्रतिनिधिले मुख्य समस्या तथा त्यसको निराकरणका लागि आयोगका सदस्य डा. फुयाँल र सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपिका भट्टको ध्यानाकर्षण गराए ।  घोडाघोडी नगरपालिकाका प्रमुख खडकबहादुर रावतले घोडाघोडी र भजनी नगरपालिका कान्द्रा नदी कटानको चपेटामा परेको उल्लेख गर्दै योजना आयोगले नदी कटान र डुबान समस्या समाधान हुने गरेर दीर्घकालीन आयोजना ल्याउनुपर्ने माग राखे ।

जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरीले कम आम्दानी हुने पालिकामा विशेष अनुदानका योजना दिन आग्रह गरे । उनले समपूरक योजनाका लागि ५० प्रतिशत खर्च पालिकाले गर्नुपर्ने भएकाले त्यस्ता योजना कार्यान्वयन गराउँदा बजेट अभाव हुने गरेको बताए ।