धनगढीमा द्रुतमार्ग कालोपत्र गर्न रोकिएको काम सुरु भएन
2024/02/18, 4:09
 
ss

कैलालीको धनगढीमा द्रुतमार्ग कालोपत्रको काम रोकिएको छ। चिसो मौसमका कारण रोकिएको काम अझै सुरु भएको छैन। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ हसनपुरदेखि स्याउले–हाटखोलीसम्मको १३ दशमलव चार किलोमिटरमा निर्माण कम्पनीले कालोपत्रका लागि तयारी गरेको थियो। तर, चिसोका कारण कालोपत्रको काम रोकिएकोमा अझै सुरु भएको छैन।

कालोपत्र गर्न भारतीय कामदारहरू आवश्यक हुन्छन्। भारतबाट कामदार नआएको आयोजना कार्यालयले बताएको छ। धनगढी–दीपायल द्रुतमार्ग योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बेस निर्माणको काम जारी रहेको बताए। भारतबाट कामदार आएपछि मात्र एक लेरको कालोपत्र गरिने उनले बताएका छन। उनले भने, ‘चिसोका कारण कालोपत्रको काम रोकेका थियौ। बेस निर्माणको काम हुँदैछ। भारतबाट कामदार नआएकाले कालोपत्रको काम सुरु भएको छैन। अब केही दिनमा आउनु हुन्छ होला।’

धनगढी–हाट्खोली १३ दशमलव चार र डोटीमा ९ दशमलव चार किलोमिटर सडक कालोपत्र गर्न २०७८ वैशाखमा सम्झौता भयो। डोटी खण्डको कालोपत्रको काम सकिएको छ। तर, धनगढीमा कालोपत्रको काम सुरु गरिएकोमा चिसोका कारण रोकिएको थियो। धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्गको कैलाली खण्डको कालोपत्रको काम तापक्रम बढ्दै गएकाले सुरु हुने रैखोलाले बताए।

कैलालीको चुरेफेदीको हाटखोली क्षेत्रमासमेत असारसम्म सडक कालोपत्र गर्ने लक्ष्य रहेको छ। हाटखोली क्षेत्रमा सात किलोमिटरको सडक निर्माणको काम जारी छ। असारसम्म समय सीमा रहेको उक्त क्षेत्रमा पनि निर्माण कम्पनीले काम थालेको हो। धनगढी–स्याउ–हाटखोली सडक खण्डको २०७८ वैशाखमा सम्झौता गरिएकोमा मंसिर २० गते समय सकिएको छ।

धनगढी–दीपायल द्रुतमार्गको कैलालीमा १३ दशमलव चार र डोटीमा ९ दशमलव चार किलोमिटर गरेर २३ किलोमिटर सडक कालोपत्रका लागि २०७८ वैशाखमा सम्झौता भएको थियो। कैलालीमा थप ७ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि दोस्रो चरणमा ठेक्का भएको थियो। दोस्रो चरणमा गरिएको ठेक्कामा डोटी क्षेत्रको अझै एक वर्ष बाँकी छ। उक्त क्षेत्रमा सडकका अन्य संरचना निर्माणको काम जारी धनगढी–दीपायल द्रुतमार्गै योजना कार्यालयका सूचना अधिकारी दिनेश रैखोलाले बताए। उनले भने, ‘डोटीमा सडक संरचनाहरू निर्माण हुँदैछन। कालोपत्रको चरणमा पुगेको छैन। ठेक्का भएको क्षेत्रमा मात्र भौतिक प्रगति ६० प्रतिशत भयो होला।’

धनगढी खण्डमा खड्का–कृष्ण–नारायण–बगलामुखी जेभी र दीपायल खण्डमा आश्रय–प्रशंसा–दुनिला जेभीले काम गर्दैछ। विसं २०६४ मा खुटिया–दीपायल द्रुतमार्गको औपचारिक रूपमा सर्भे गरी ट्याक खोल्न थालिएको थियो।