ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको मुख्यमन्त्री शाहको भनाई
2024/02/19, 1:51
 
ss

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशवासीको आधारभूत अधिकार कार्यान्वयन गराउन समस्या र चुनौती रहेको बताएका छन् । ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा मूल समारोह समितिले आयोजना गरेको समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले भौगोलिक भुवनोट, गरिबी, शिक्षा तथा स्वास्थ्यको पहुँच लगायतकाकारण आधारभूत अधिकार कार्यान्वयनमा समस्या र चुनौती रहेको बताएका हुन् ।

‘सुदूरपश्चिम प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी, उद्यमशीलताको कमी, स्वास्थ्य संस्थाको अभाव, पूर्वाधार निर्माणमा कमी लगायतका थुप्रै समस्या रहेका छन्’ उनले भने –‘यहाँको भुवनोट र स्रोत साधन अभावका कारण पनि प्रदेशको विकासमा केही जटिलता र कठिनाइ भइरहेका छन् ।’  उनले संघिय सरकारले संविधानपद्दत अधिकारहरू प्रदेश सरकारलाई दिन नसक्नु, ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको बताए ।

उनले तीन तहको समन्वयात्मक सिद्धान्तलाई प्रदेश सरकार व्यवहारिक रूप दिन तयार रहेको बताए । उनले भने –‘संविधानतः संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सम्बन्धका आधारमा विकसित हुने कुरामा प्रमुख प्राथमिकतामा राखेको छ ।’  उनले सार्वजनिक सेवा प्रवाह र विकास गतिविधि गर्दा जनतालाई अनुभूति हुने गरी प्रदेश सरकार सधैँ तयार रहेको बताए । उनले सङ्घीयतामा जनताका आँकाक्षा बढ्नु स्वाभाविक रहेको बताए । उनले राजश्व संकलन र बाँडफाँटमा अझै जटिलता रहेको बताए ।

मुख्यमन्त्री शाहले प्रजातन्त्र दिवसको शुभकामना व्यक्त गर्दै ‘यसलाई अझ सबल, सक्षम र सुदृढ गर्दै अघि बढ्दै जानुपर्छ ।’ उनले समातामुलक समाज र सुशासन कायम गर्न दिवसले प्रेरणा दिइरहेको बताए । उनले भने –‘राज्य शक्तिको स्रोत जनतामा निहित रहेकाले जनताकै हितमा परिचालन हुनुपर्छ ।’

मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए । प्रदेशका प्रमुख सचिव हरि लम्सालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न झाँकी, डेउडा लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । दिवसको अवसरमा प्रदेश प्रमुख जोशीले झन्डोत्तोलन गर्नुका साथै सहिदका तस्बिर माथि माल्यार्पण गरेका थिए ।