कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण गरिदै
2024/02/21, 2:12
 
ss

कैलालीको मोहना र खुटिया नदीमा तटबन्ध निर्माण भइरहेको छ ।जिल्लाको मध्यभाग भएर बग्ने मोहना र खुटिया नदीको कटान तथा डुबान नियन्त्रण गर्न करिब ५२ करोड रुपियाँको लागतमा तटबन्ध निर्माण भइरहेको हो ।

बर्खामा नदीले खेतीयोग्य जमिन तथा बस्ती कटान गर्ने भएकाले त्यसको नियन्त्रणका लागि एसियाली विकास बैङ्क ९एडिबी०को लगानीमा तटबन्ध निर्माण भइरहेको छ । जनताको तटबन्ध कार्यालय कञ्चनपुरले यी दुवै नदीमा तटबन्ध निर्माण भइरहेको जानकारी दिएको हो । नदीबाट हुने क्षति रोक्न तटबन्ध निर्माण कार्य प्रभावकारी हुने अपेक्षा गरिएको छ । यी दुवै नदीमा ११ प्याकेजमा निर्माणको काम भइरहेको छ । आठ हजार छ सय मिटर लामो तटबन्ध निर्माण भइरहेको जनताको तटबन्ध फिल्ड कार्यालयका प्रमुख श्रीप्रसाद साहले बताए ।

“केही प्याकेजको काम पूरा भइसकेको छ, अरू प्याकेजमा काम अझै जारी छ,” उनले भने, “बाँकी रहेको काम भने निर्माण कम्पनीले चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्नुपर्ने छ ।” तटबन्ध कार्यालयका अनुसार धनगढी उपमहानगरपालिका–३ स्थित पिआरटिडब्लु–१२ प्याकेज अन्तर्गत मोहना नदीमा सात सय मिटर तटबन्ध निर्माणको काम पूरा भएको छ ।

सोही नदीको पारितिर कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ मा पिआरटिडब्लु–११ प्याकेज अन्तर्गत एक हजार ३५० मिटर तटबन्ध निर्माण सकिएको छ । बडहरामा रहेको होल्डिङ सेन्टरलाई जोगाउनका लागि धनगढीतर्फ अझै तलसम्म तटबन्ध गर्न आवश्यक रहेको वडा नम्बर ३ का वडाध्यक्ष राजबहादुर ऐरले बताए ।

उनले भने, “अहिले भएको कामले वडा कार्यालय, गौशाला र सामुदायिक वन नदीको कटानबाट जोगिने भयो तर होल्डिङ सेन्टर बचाउन अझ तलसम्म तटबन्ध आवश्यक छ ।” मोहना नदीमै पिआरटिडब्लु–११ बी प्याकेज अन्तर्गत कञ्चनपुरको जोरायल टोलतर्फ ५२० मिटर तटबन्ध बनिरहेको छ ।यसै गरी धनगढी उपमहानगरपालिका–१३ स्थित श्रीलङ्कातर्फ पिआरटिडब्लु–३ प्याकेज अन्तर्गत ४३० मिटर तटबन्ध निर्माणको कार्य सकिएको छ ।

सोही ठाउँको कञ्चनपुरतिर आठ सय मिटर तटबन्ध निर्माणको कार्य भइरहेको छ । कृष्णपुर नगरपालिका–१, मोहना नदीमै छ सय मिटर बाँध र सात सय मिटर तटबन्ध निर्माणको कार्य सम्पन्न भएको छ ।खुटिया नदीको विभिन्न स्थानमा तटबन्ध निर्माण कार्य पनि जारी रहेको छ । सो कार्यालयका अनुसार पिआरटिडब्लु–६ प्याकेज अन्तर्गत गोदावरी नगरपालिकाको अर्जुन टोलतर्फ एक हजार छ सय मिटर, पिआरटिडब्लु–७ अन्तर्गत तीन सय मिटर, पिआरटिडब्लु–८ प्याकेज अन्तर्गत गौरीगङ्गा नगरपालिकाको उत्तर खैरेनीतर्फ आठ सय मिटर तटबन्ध निर्माण भइरहेको छ ।

यस्तै गोदावरी नगरपालिकाको धनचौँरीतर्फ पिआरटिडब्लु–१३ प्याकेज अन्तर्गत एक हजार मिटर र धनगढी उपमहानगरपालिका–१५ तरबरियामा पिआरटिडब्लु–९ प्याकेज अन्तर्गत चार सय मिटर तटबन्ध निर्माण कार्य भइरहेको छ ।दुवै नदीमा तटबन्ध निर्माणका लागि आर्थिक वर्ष २०७८/७९ मा तीन वर्षभित्र काम पूरा गर्ने गरी टिम्स–राजेन्द्र–कुमार जेभीसँग ठेक्का सम्झौता भएको थियो । गोरखापत्र