एमाले कैलालीको नेतृत्व चयन गर्न छैटौं दिन मतदान सुरू
2024/02/23, 11:10
 
11

नेकपा एमाले कैलालीको नयाँ नेतृत्व चयनका लागि छैटौं दिन शुक्रबार मतदान सुरू भएको छ । सुख्खडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा केहीबेर अघि मतदान सुरू भएको हो ।

अध्यक्षका प्रत्यासी डेजी पाण्डेले पहिलो मत खसालेका हुन् । त्यसपछि जोशी र ढुङ्गानाले मत खसाले। यो निर्वाचनमा पाँच सय ९१ जना प्रतिनिधिले मतदान गर्नेछन् । मतदान दिउँसो १ बजेसम्म चल्नेछ । एमालेको नेतृत्वका लागि कार्यवाह अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज ढुंगाना प्यानलसहित प्रतिस्पर्धामा छन् ।

अध्यक्षमा यज्ञराज ढुङ्गाना, दुर्गाप्रसाद जोशी, डेजी पाण्डे चुनावी मैदानमा छन्। उपाध्यक्षमा ६ जनाको उम्मेदवारी रहेको छ। गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्रबहादुर रावल, विष्णुबहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उम्मेदवारी दिएका छन्। सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममताप्रसाद चौधरीले उम्मेदवारी दिएका छन्।

चन्द यज्ञराज ढुङ्गाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन्। उपसचिवमा राजु गुरुङ, चूडामणि भट्ट,नृप थ्यायत खड्का, चक्रबहादुर विष्ट, भुवन रिजालको उम्मेदवारी परेको छ। त्यस्तै महिला उपसचिवमा रत्ना कुँवर जोशी, अम्बिका विष्ट मल्ल, गङ्गाकुमारी चौधरी र शान्तिदेवी सिंह रहेका छन्। ६ फागुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोडाघोडीको सुख्खडमा नवौँ अधिवेशनको उद्घाटन गरेका थिए । ओलीले नेतृत्वमा सहमति नजुटे भोलिपल्टै निर्वाचन प्रक्रिया अघि बढाउन निर्देशन दिएका थिए तर मंगलबार मात्र प्रक्रिया थालेको निर्वाचन कमिटीले प्राविधिक समस्या देखाउँदै निर्वाचन कार्यक्रम सार्दै आएको थियो ।