एमाले कैलाली जिल्ला अधिवेशन : ६ बजेसम्म ४४५ जनाले गरे मतदान
2024/02/23, 6:17
 
astdy7aw

नेकपा एमाले कैलालीको सुुखडमा भईरहेको जिल्ला कमिटिको निर्वाचनमा बेलुकी ६ बजेसम्म ४४५ मत खसेको छ । मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले दिएको जानकारी अनुसार बेलुकी ६ बजेसम्म ४४५ जनाले मतदान गरेका हुन ।

अधिवेशनमा जिल्लाभरीका ५९१ प्रतिनिधि मध्ये ४४५ जनाले मतदान गरेका हुन भने अब १४६जनाले मात्रै मतदान गर्न बाँकी छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले, ६ बजेसम्म मतदान परिषरमा पसिसकेका मतदाताहरुलाई मतदान गर्न दिने जनाएको छ । 

‘अब १४६जना बाँकी छन, हामीले सबैलाई ६ बजेभीत्र मतदान स्थलभीत्र पसिसक्ने भनि सूचना जारी गरेका थियौं, सबै मतदाताहरु मतदानस्थलभीत्र पसिसकेका छन । साढे ८ देखि ९ बजेसम्म मतदान सकिने अनुमान गरेका छौं’ मुख्य निर्वाचन अधिकृत मान बहादुर जोराले भने ।

निर्वाचन अधिकृतको कार्यालयले २० मतदान केन्द्र बनाएको छ । ‘सदस्यमा तीन मतपत्र र पदाधीकारीका लागि छुट्टै मतपत्र गरी चार वटा मतपत्रमा मन परेको उमेदवार खोज्न समय लागि रहेको छ’ मुख्य निर्वाचन अधिकृत जोराले भने । निर्वाचन समितिले शान्तिपूर्ण रुपमा मतदान भईरहेको जनाएको छ । एमालेको जिल्ला कमिटिको निर्वाचन शुक्रबार छैटौं दिन सुरु भएको हो । 

नेतृत्वका लागि तीन वटा प्यानल चुनावी मैदानमा छन । निर्वाचन कार्यालयले प्रकासित गरेको उमेदवारको नामावली अनुसार कार्यबाहक अध्यक्ष दुुर्गा प्रसाद जोशी, बर्तमान सचिव डेजी पाण्डेय र यज्ञराज ढुंगानाको प्यानल नै चुनावी मैदानमा छ । उपाध्यक्ष पदमा ६ जनाको उम्मेदवारी रहेको छ । गजेन्द्र स्वार, दलबहादुर विष्ट, मदन ओझा, वीरेन्द्र बहादुर रावल, विष्णु बहादुर चौधरी, लोकेन्द्र शाहीले उपाध्यक्षका लागि उमेदवारी दिएका छन ।

सचिवमा विष्णुकुमार चन्द, दानबहादुर विश्वकर्मा र ममता प्रसाद चौधरी गरी तीन जनाले उमेदवारी दिएका छन । चन्द यज्ञराज ढुंगाना प्यानल, विश्वकर्मा जोशी प्यानल र चौधरी पाण्डेय प्यानलका सचिव हुन ।