एमाले कैलालीमा ढुंगानाको ‘कमब्याक’, भन्छन्–सुदृढ र एकताबद्ध पार्टी बनाउछौँ
2024/02/25, 1:02
 
ss

नेकपा एमालेका कैलालीको सातौँ जिल्ला अधिवेशनमा रणबहादुर चन्दसँग पराजीत भएपछि पनि यज्ञराज ढुंगाना पार्टीमा सक्रिय भइरहे । कार्यकारी भूमिकामा नभएका कारण ढुंगाना पार्टीका काममा फ्रन्ट लाइनमा नदेखिए पनि उनी विभिन्न ढंगले नेता, कार्यकर्तासँग जोडिरहेका थिए । व्यवसायिक क्षेत्रमा आवद्ध भएका कारण पनि उनीसँग कुनै न कुनै रुपले पार्टीका नेता तथा कार्यकर्ता ठोक्किने कुरा स्वभाविकै थियो । उनी सामाजिक कार्यका माध्यमबाट पनि आम कार्यकर्तासँग जोडिएरै बसे ।

ढुंगाना कैलालीको बौनियामा रहेको रघुनाथ माध्यमिक विद्यालयमा १० कक्षामा पढ्दै गर्दा २०५२ सालमा अनेरास्ववियुमा संगठित भएर एमालेको राजनीतिमा आएका थिए । २०५८ सालमा अनेरास्ववियुको कैलाली क्षेत्र नम्बर २ को क्षेत्रिय कमिटि अध्यक्ष भएर काम गरेका उनी २०६० सालमा जिल्ला अध्यक्ष भएका थिए ।

२०६२ सालमा अनेरास्ववियुको केन्द्रीय सदस्य भएका ढुंगानाले कैलाली बहुमुखी क्याम्पसको स्ववियु सभापति भएर समेत काम गरिसकेका छन् । उनी २०६३ सालमा कैलाली क्याम्पसको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । त्यसपछि एक कार्यकाल एमाले कैलालीको जिल्ला कमिटि सदस्य भइसकेका ढुंगाना सातौँ अधिवेशनबाट दिपक देवकोटाको प्यानलबाट जिल्ला सचिवमा चुनाव लडेका थिए तर उनी पराजीत भए ।

थोरै मतले तत्कालीन समयका प्रतिद्धन्द्धी रणबहादुर चन्दसँग पराजीत भएका ढुंगाना अहिले प्रदेश कमिटि सचिव समेत रहेका उनै चन्दसहितका नेताको साझा उम्मेदवार बनेर जिल्ला अध्यक्ष बनेका छन् । एक कार्यकाल प्रदेश सचिवालय सदस्य बनेर काम गरेको अनुभव भएका ढुंगाना पार्टीको नेतृत्वमा पहिलोपटक पुगेका हुन् ।  सालिन, भद्र र मिलनसार स्वभावका ढुंगानाले कैलाली एमालेमा गरेको कमब्याक भने रोचक नै बन्यो । उनी हालका जिल्लाका कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी र सचिव डेजी पाण्डेलाई फराकिलो मतान्तरले पराजीत गर्न सफल भए ।

प्रतिनिधिसभा सदस्य समेत रहेका केन्द्रीय सदस्य तथा पूर्व सुदूरपश्चिम इन्चार्ज दामोदर भण्डारी, पोलिटब्युरो सदस्य लिला भण्डारी, नेता दिपक देवकोटा, कमला ओली, सुर्य थापा लगायतको समर्थनमा ढुंगानाले प्यानलसहित अध्यक्षमा उम्मेदवारी दिएका थिए ।  उनको प्यानलबाट पदाधिकारीमा आफूसहित उपसचिव चुडामणी भट्ट र गंगाकुमारी चौधरी विजयी भएका छन् भने उपाध्यक्षमा डेजी पाण्डे प्यानलका लोकेन्द्रबहादुर शाही र सचिवमा ममताप्रसाद चौधरी विजयी भए । कार्यवाहक अध्यक्ष जोशी प्यानलबाट भने कोही पनि पदाधिकारीमा निर्वाचित हुन सकेनन् ।

लामो समय पार्टी सत्ता बाहिर रहेका ढुंगानाको विजयीलाई कतिपयले अप्रत्यासित भनेका छन् । किनकी अन्य शिर्ष नेताको समर्थन उनको प्यानललाई थिएन । एमालेको राजनीतिमा सक्रिय भएको २८ वर्षपछि जिल्ला कमिटिको अध्यक्षको चुनाव जित्दै पहिलोपटक पार्टी सत्ताको कार्यकारी तहमा पुगेका ढुंगानाले पार्टीलाई सुदृढ र एकताबद्ध बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  नवौँ अधिवेशनबाट अध्यक्षमा निर्वाचित गराउन अमूल्य मत दिने अधिवेशन प्रतिनिधिलाई धन्यवाद दिदै उनले कैलालीमा एमालेलाई सशक्त र एकताबद्ध पार्टी बनाउने चुनौती आफ्नो काँधमा आइपुगेको बताएका छन् ।

‘मलाई विश्वास गरि आफ्नो अमूल्य मत दिएर जिल्ला अध्यक्षको कार्यभार प्रदान गर्नुभएकोमा सम्पूर्ण प्रतिनिधि कमरेडहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु,’ ढुंगानाले लेखेका छन, ‘नेकपा एमालेलाई कैलालीमा सशक्त र एकताबद्व पार्टी बनाउने चुनौती मेरो काँधमा आइपुगेको छ ।’  उनले सबैको सल्लाह, सुझावअनुसार नै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् । ‘पार्टी नेतृत्व पंक्ति, एमालेमा गोलबन्द भएर विभिन्न तहतप्कामा जिम्मेवारीमा रहनुभएका तपाईं सबैको शुभेच्छा, सल्लाह, सुझाव बमोजिम यो चुनौती सामाना गर्दै कैलालीलाई एमालेको लालकिल्ला बनाउने अभियानमा अघि बढ्ने प्रतिबद्वता व्यक्त गर्दछु,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।  ढुंगानाले आफ्नो जितलाई सिंगो पार्टीको जित भएको बताउँदै सबैलाई समेटेर अघि बढ्ने प्रतिबद्धता समेत जनाएका छन् ।