अत्तरिया बसपार्कः जताजतै फोहोरै फोहोर, बसभन्दा ठेला बढी
2024/02/27, 11:36
 
ss

कैलालीको अत्तरिया बसपार्क कुरूप बनेको छ । जताततै फोहोर र ठेलागाडाले बसपार्क कुरूप बनेको हो । बसपार्कमा सवारीसाधन भन्दा बढी ठेलागाडी हुँदा अव्यवस्थित बन्नुको साथै जताततै फालिएको फोहोरले बसपार्क कुरूप बनेको छ । बसपार्क भित्र हप्तामा ३ दिन झाडो लगाइने दावी गरिएपनि बसपार्क वरिपरि भने फोहोरको डङ्गुर थुप्रिएको देखिन्छ । बसपार्कमा ठेला व्यवसाय गर्दै आएका पदम सिह धामीले फोहोर फाल्नको लागि डस्टबिनको पनि व्यवस्था नभएको बताए । उनले सबैले जताततै आफूखुसी फोहोर फालिरहेको बताए ।

‘बसपार्कको ठेकेदारले ठेलाबाट भाडा मात्रै उठाइन्छ । पैसा उठाएपछि ठेकेदारले फोहोर उठाउनु पर्ने हो’ उनले भने ‘फोहोर पनि उठाउँदैनन् । फोहोर फाल्ने डस्टबिन पनि छैन ।’ ठेला व्यवसायी जानकी शर्माले बसपार्कमा ठेला राखेपछि ठेकेदारलाई दैनिक ५० रुपैयाँ, फोहोर उठाउने नगरपालिकाको गाडीलाई मासिक १ सय रुपैयाँ तिरीरहेको बताइन् । ‘नगरपालिकाको गाडीलाई सबै ठेला व्यवसायीले पैसा दिन मान्दैनन्’ उनले भनिन् ‘बसपार्कको ठेकेदारलाई भने नियमित पैसा दिन्छौ ।’

गोदावरी नगरपालिकामा फोहोर संकलन र सरसफाइको जिम्मा पाएको मातृभूमि समाज प्रालिले भने बसपार्कमा नियमित सरसफाइ गरिरहेको दावी गरेको छ । मातृभूमि समाज प्रालिका सञ्चालक गोविन्द रावलले बसपार्कमा धेरै ठेला हुँदा फोहोर व्यवस्थापनमा समस्या भएको बताए । ‘बसपार्कमा सरसफाइका लागि दैनिक गाडी पठाएको छु । ति ठेलावालाले मासिक शुल्क पनि दिदैनन् । जताततै फोहोर फालिदिन्छन्’ उनले भने ‘पैसा नदिएपनि एक ठाउँमा फोहोर जम्मा गरिदिन भनेपनि सुन्दैनन् । ठेलाको मुनी फोहोर राखेर गाडीलाई दिनुस् भन्दा मान्दै मान्दैनन् ।’ उनले बसपार्कमा हप्तामा ३ दिन झाडो लगाउने गरेको बताए । उनले भने ‘बिहान झाडो लगाएर सफा बनाएपछि साँझ उस्तै फोहोर भएको हुन्छ ।

अत्तरिया बसपार्कमा पार्किङ शुल्क उठाउने जिम्मा भने भैरवकाली निर्माण सेवाले पाएको छ । भैरवकालीका प्रतिनिधि पदम कुमार श्रेष्ठले बसपार्कको सफाइको जिम्मा नगरकै भएको बताए । उनले नगरबाट सफाइको जिम्मा पाएको मातृभूमि समाजलाई आफूहरूले मासिक २ हजार शुल्क तिर्ने गरेको बताए । उनले भने ‘मासिक पैसा लग्छन् । झाडो कहिले लगाउँदैनन् ।’

ठेलागाडालाई बसपार्कमा नराख्न भनेपनि नटेर्ने गरेको उनको भनाइ छ । उनले ठेला राख्न नछोडेपछि आफूहरूले नै मासिक १०–२० देखि ५० रुपैयाँ सम्म शुल्क उठाउने गरेको बताए । ‘पहिला ठेला राख्न नदिने भनेको हौ । ठेला व्यवसायीले नमानेपछि हामीले राख्न दिएका हौ’ उनले भने ‘यहाँ राख्न नपाए हातमुख जोर्न सकिदैन भनछन । अनि हामीले राख्न दियौ ।’ भैरवकालीले बसपार्कबाट पार्किङ शुल्क उठाउनको लागि १ करोड १७ लाखमा ठेक्का पाएको छ ।

बर्सातमा हिलाम्मे र सुख्खा मौसममा धुलाम्मे हुने अत्तरिया बसपार्कको जग्गा नेपाली सेनाको भोगचलनमा रहेको छ । सेनाको जग्गामा भएपनि ठेक्का मार्फत पार्किङ शुल्क उठाउने देखि व्यवस्थापनको जिम्मा गोदावरी नगरपालिकाले गर्दै आएको छ । बसपार्क निर्माणका लागि नगरपालिकाले डिपिआर तयार गरेको भएपनि सेनाले अवरोध गरेकाले काम गर्न नसकेको बताउँदै आएको छ ।