गौरीगंगा गोल्डकपः स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा 
2024/03/06, 6:16
 
ss

कैलालीको गौरीगंगामा भईरहेको चौथो संस्करणको गौरीगंगा गोल्डकप २०८० मा स्टार सिटी ब्वाईज युनियन सेमिफाईनलमा प्रवेश गरेको छ । गौरीगंंगा ११ स्पोर्टस क्लबको आयोजना भईरहेको प्रतियोगिता अन्तगर्त आज भएको खेलमा जित हात पार्दै स्टार सिटी ब्वाईज युनियन अन्तिम चारमा पुगेको हो । स्टार सिटी ब्वाईज युनियनले विएस १५ क्लबलाई २–० ले हराएको हो । खेलमा कुवेर सिंहले उत्कृष्ट प्रदर्शन गर्दै टीमका लागि दुई गोल गरे । उनले पहिलो हाफको ३२ औं मिनेटमा पहिलो र दोस्रो हाफको ८७ औं मिनेटमा दोस्रो गोल गरे । उनी खेलको म्यान अफ द म्याच भए । उनले नगद पाँच हजार सहित ट्रफी पाए । 

यस्तै प्रतियोगिताको रोकिएको उद्घाटन खेलमा सुदुुरपश्चिम ११ विजयी भएको छ । हिजो साँझ परेका कारण रोकिएको खेलको बाँकी समय खेलाईएको खेलमा सुप ११ ले घोडाघोडी युवा क्लबलाई १–० ले हरायो । सुप ११ का लागि दोस्रो हाफको ७२ औं मिनेटमा अमर डंगोलले निर्णायक गोल गरे । उनले खेलको म्याच अफ द म्याच हुँदै नगद पाँच हजार सहित ट्रफी पाए । प्रतियोगिता अन्तर्गत भोली आयोजक गौरीगंगा ११  स्पोर्टस क्लब र अछामको ब्याक एन्जल बीच खेल हुनेछ ।

कैलालीको गौरीगंगामा २०७४ सालदेखि आयोजना हुदै आएको गोल्डकपको यस वर्षको विजेताले नगद ६ लाख र उपविजेताले ३ लाख नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन । सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार, उत्कृष्ट विधाका खेलाडीले १५–१५ हजार नगद र हरेक खेलको म्यान अफ दि म्याच हुनेले ५ हजार पाउने छन । 

कैलालीमा राष्ट्रियस्तरका खेल आयोजना गर्न मिल्ने अर्को रंगशाला निर्माणमा जोड दिन प्रतियोगिता आयोजना गरिएको आयोजकले जानकारी दिएको छ । खेलाडी उत्पादन र खेल क्षेत्रको विकासका लागि खेलकुद मैदान आवश्यक रहेकाले सोही अनुसार फुटबलको पुर्वाधार निर्माणका लागि दबाब दिन विगतदेखि गोल्डकप आयोजना गर्दै आएको आयोजक सुदुरपश्चिम ११ स्पोर्टस क्बलले जनाएको छ ।