धनगढीमा तीन दिनसम्म नेपाली सेना दिवस मनाइदै, विविध सैन्य प्रदर्शनी हुने
2024/03/07, 5:41
 
ss

नेपाली सेनाले धनगढी रङ्गशालामा महाशिवरात्री तथा नेपाली सेना दिवस मनाउने भएको छ। नेपाली सेनाको सुदूरपश्चिम पृतना हेड क्वाटर तेघरीले धनगढी रङ्गशालामा महाशिवरात्री र २६१ औं नेपाली सेना दिवस मनाउने भएको हो।

नेपाली सेनाले हरेक वर्ष आफ्नो स्थापना दिवस महाशिवरात्रीको दिन मनाउने गरेको छ। नेपाली सेनाको आफ्नो पेशागत क्षमता अभिवृद्धि गर्नुका साथै सैनिक नागरिक सम्वन्ध सुमधुर राख्न धनगढी रङ्गशालामा नेपाली सेनाको २६१ औं स्थापना दिवस मनाउन लागेको सुदूरपश्चिम पृतनाले निकालेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रेस विज्ञप्तिमा भनिएको छ ‘नेपाली सेनाले नागरिक सैनिक सम्बन्धलाई थप सुमधुर र अविछिन्न राख्न जनरक्षा, जनहितका कार्यहरुको अलावा राष्ट्र विकास निर्माण, प्रकृति संरक्षण तथा खेलकुदका क्षेत्रमा अतुलनीय योगदान पुर्याउँदै जनतासँगै हिड्ने प्रयास गरिरहेको छ। हरेक नागरिकलाई आफ्नो देशको सेनाको बारेमा जान्ने उत्सुकता जाग्नु स्वभाविक कुरा हो। यसका लागि नेपाली सेनाले केन्द्रिय स्तरमा जंगी अड्डामा ‘नेपाली सेना ईतिहास देखि वर्तमानसम्म’ नामक बृहत प्रदर्शनी सञ्चालन गर्दै आईरहेको छ।ु

नेपाली सेनाले जनस्तरमा नेपाली सेनाको सम्बन्ध बलियो बनाउन प्रदेश स्तरमा समेत सुदूरपश्चिम पृतना हेड क्वाटरद्वारा महाशिवरात्री तथा नेपाली सेना स्थापनाको २६१ औं वार्षिक उत्सवको अवसरमा धनगढीस्थित कवर्ड हलको खेल मैदानमा फागुन २६, २७ र २८ गतेका दिन ‘विविध सैनिक प्रदर्शनी ‘युनीटी रन २०८० समेत हुने जनाएको छ।

नेपाली सेनाले तीन दिनसम्म सञ्चालन हुने सैनिक प्रदर्शनीमा नेपाली सेनाको युद्धक, युद्ध मद्दती तथा युद्ध सेवा मद्दती युनिटहरुको भूमिका तथा विभिन्न हातहतियार, ईक्युप्मेन्ट, पोशाक, सामग्री, युद्धकला झल्कने झलक सम्बन्धी वास्तविक प्रदर्शनी गरिने भएको छ। प्रदर्शनीमा नेपाली सेनाद्धारा गरिएका विविध गतिविधिहरु जस्तैः प्रकृति संरक्षण, विकास निर्माण, जनहितका कार्य, विश्व शान्ति स्थापना, खेलकुद आदीलाई फोटो तथा भिडियो मार्फत जानकारी गराईने भएको छ। २८ गतेको बिहान ७ बजे ‘युनिटी रन( २०८०’ का विभिन्न विधाहरुमा उमेर समूह अनुसार ५ किलोमिटर दौड प्रतियोगिता हुने भएको छ।

दौडमा भाग लिने कक्षा १० सम्म र ११  तथा १२ कक्षाको छात्रछात्राहरुलाई छुट्टा समूहमा मूल्याङ्कन गरिने छ। कक्षा १० सम्म र ११ तथा १२ कक्षामा अध्ययन गर्ने विद्यार्थी मध्ये प्रथम, द्वितीय र तृतीय स्थान हसिल गर्ने धावकलाई क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कार दिइने नेपाली सेनाको सुदूरपश्चिम पृतनाले जनाएको छ। 

सेना दिवसको अवसरमा महिला र पुरुषको १० किलोमिटर खुल्ला दौड प्रतियोगिताका समेत हुने भएको छ। १० किलोमिटर दौडमा प्रथम स्थान हासिल गर्ने महिला र पुरुषलाई माउन्टेन बाइक सहित नगद १५ हजार पुरस्कार दिइने भएको छ। यस्तै, १० किलोमिटर दौडमा द्वितीय हुने धावकलाई नगद १० हजार तथा तृतीय स्थान हासिल गर्ने धावकलाई नगद ७ हजार पुरस्कार दिइने छ।

धनगढी रङ्गशालामा तीन दिनसम्म चल्ने सैनिक प्रदर्शनीको अवलोकन गर्न नेपाली सेना, सुदूरपश्चिम पृतना हेड क्वाटरले सर्वसधारणलाई अनुरोध गरेको छ।