बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गरिने
2024/03/07, 5:47
 
dd

कैलालीको प्रसिद्ध धार्मिकस्थल बेहडाबाबा मन्दिरमा शुक्रबार हेलिकोप्टरबाट पुष्प वर्षा गरिने भएको छ । शिवरात्रि पर्वको अवसरमा बेहडाबाबा मन्दिरमा हेलिकोप्टरबाट पुष्प वर्षा गराउन लागेको बेहडाबाबा फाउण्डेशन तथा मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।

धार्मिक पर्यटकीय स्थल बेहडाबाबाको प्रचारप्रसार गर्ने उद्देश्यका साथ हेलिकोप्टरबाट फूल वर्षा गराउन लागेको समितिका अध्यक्ष पदमराज जोशीले बताए । उनका अनुसार भोलि मध्याह्नमा आकाशबाट फूल वर्षा गरिने छ ।  यस्तै, अपराह्नमा सवा दुई करोड दीप प्रज्वलन गरिने छ । हेलिकोप्टरबाट पुष्प वर्षा र दीप प्रज्वलनको लागि सम्पूर्ण तयारी भएको जनाइएको छ ।

धनगढी उपमहानगरपालिका–१६ स्थित रामपुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शनका लागि भारतबाटसमेत ठुलो सङ्ख्यामा दर्शनार्थी आउने गरेका छन् ।  धनगढीबाट बेहडाबाबा मन्दिरसम्म सहज रूपमा आवातजावतका लागि धनगढी उपमहानगरपालिकाको कार्यालयले सडक मर्मत गरिसकेको छ ।