सुदूरपश्चिममा वैकल्पिक गठबन्धन निर्माण गर्न मुख्यमन्त्री सक्रिय , एमाले –माओवादी र नेकपा एस विना पनि बन्न सक्छ सरकार
2024/03/07, 5:50
 
ss

केन्द्रमा भएको राजनैतिक परिवर्तनको प्रत्यक्ष प्रभाव प्रदेशहरूमा पनि देखिएको छ । केन्द्रकै सत्ता समीकरण अनुसार बनेको सुदूरपश्चिम प्रदेश सरकार केन्द्रमा गठबन्धन फेरिनासाथ सङ्कटमा पुगेको हो ।  हिजो माओवादी केन्द्रले र आज नेकपा एकीकृत समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै कमल बहादुर शाह नेतृत्वको सरकार अल्पमतमा परेको परेको छ ।

प्रदेशसभामा नेकपा एमालेबाट तत्कालीन मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिन नसक्दा सबैभन्दा ठुलो दलको हैसियतले नेपाली कांग्रेसका कमलबहादुर शाह संविधानको धारा १६८ को उपधारा ३ बमोजिम मुख्यमन्त्री बनेका थिए ।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाह नेतृत्वको सरकार सङ्कटमा परेसँगै नयाँ सरकार गठनबारे चर्चा हुन थालेको छ । नयाँ समीकरण अनुसार माओवादी, एमाले र नेकपा एकीकृत समाजवादी एक ठाउँमा उभिएका छन् । भने नागरिक उन्मुक्ति पार्टीले अहिले सम्म कुनै निर्णय गरेको छैन ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा हाल ५२ सदस्य छन् । नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपाका १ र १ जना स्वतन्त्र सांसद छन् । यहाँ बहुमतका लागि कम्तीमा २७ जना सांसदको समर्थन आवश्यक हुन्छ ।

नयाँ समीकरण अनुसार माओवादीको ११, एमालेको १० र नेकपा एकीकृत समाजवादीका ४ सांसद मिल्दा पनि बहुमत पुग्दैन ।

अर्को तर्फ कांग्रेसका १८ जना र केन्द्रमा नयाँ गठबन्धनमा नरहेको राप्रपाको १ जना तथा स्वतन्त्र १ जना जोड्दा पनि बहुमत पुग्दैन । यस्तो अवस्थामा दुवै गठबन्धनमा नागरिक उन्मुक्तिका ७ सांसद निर्णायक छन् ।

यस पुस १० पछि एमाले माओवादीको सरकारलाई विश्वासको मत नदिएको नागरिक उन्मुक्ति पार्टीलाई साथमा लिएर सुदूरपश्चिम प्रदेशमा वैकल्पिक गठबन्धन बनाउने तयारीमा मुख्यमन्त्री कमल बहादुर शाह आफै जुटेका छन् । उनले नाउपा देखी स्वतन्त्र तथा राप्रपा सांसदलाई पनि साथ दिन आग्रह गरिसकेको स्रोतको दाबी रहेको छ ।

नाउपा, राप्रपा र स्वतन्त्र सांसद समेत वैकल्पिक गठबन्धन तयार गर्ने विषयमा मुख्यमन्त्री सक्रिय रहेको उनी निकट स्रोतले दाबी गरेको छ । नाउपा, राप्रपा र स्वतन्त्र सांसद मिल्दा २७ जना पुग्ने र सरकार गठन हुन सक्ने बुझाइमा मुख्यमन्त्री छन् । 

पुरानै गठबन्धन कायम गर्न आफू विभिन्न ढङ्गबाट छलफलमा जुट्न तयार रहेको उनले पत्रकार सम्मेलनमार्फत नै जानकारी दिइसकेका थिए । 

उनले माओवादीका तीन मन्त्री, नेकपा एकीकृत समाजवादीका १ मन्त्री बर्खास्त गर्दा नाउपाका २ मन्त्रीलाई जोगाइरहेको विषयलाई पनि धेरैले मुख्यमन्त्री वैकल्पिक गठबन्धन तयार गर्न लागिरहेको बताएका छन् ।

स्रोतका अनुसार स्वतन्त्र सांसद डा।  तारा जोशीलाई र राप्रपा सांसद खेमा देवी विष्टलाई मन्त्रालयको  जिम्मेवारी दिएर भए पनि सरकार जोगाउने लयमा मुख्यमन्त्री रहेको दाबी गरिएको छ ।

आजै नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशमलाल चौधरी  धनगढी पुग्दै छन् । साँझ ६ बजे पत्रकार सम्मेलन गरेर यस विषयमा ठोस निष्कर्ष सार्वजनिक गर्ने तयारी गरिएको छ । 

अहिले सम्म आफ्नो पार्टीको समर्थन कायमै रहेको जनाएको नाउपाले साँझको पत्रकार सम्मेलनमा सरकारलाई समर्थन कायमै राखे एमाले माओवादी र नेकपा एकीकृत समाजवादी बिना पनि सरकार बन्न सक्ने सम्भावना रहन्छ । 

यस्तो अवस्थामा भने राप्रपाका १ र स्वतन्त्र १ सांसद निर्णायक रहन्छन् । वैकल्पिक शक्ति निर्माण हुने वा नहुने विषय भने नाउपाको पत्रकार सम्मेलन पछि टुङ्गो लाग्ने छ ।