यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताः मधेश र गण्डकी प्रदेशको जित
2023/04/25, 10:20
 
ss

मधेश प्रदेश र गण्डकी प्रदेशले कैलालीको धनगढीमा जारी एनआईएमबी सुदुरपश्चिम मुख्यमन्त्री १६ बर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा जित हात पारेका छन् । आज भएका खेलमा जित हात पार्दै मधेशले लगातार दोस्रो जित हात पारेको हो भने गण्डकीले पहिलो जित दर्ता गरेको हो । फाप्ला मैदानमा आज भएको पहिलो खेलमा मधेशले कर्णालीलाई ४९ रनले हरायो भने दोस्रो खेलमा गण्डकीले कोसी प्रदेशलाई १२ रनले हरायो । 

आज भएको पहिलो खेलमा मधेशले पहिले ब्याटिङ गर्दै सबै विकेट क्षतिमा १२५ रन बनायो । उसका लागि राहन शाहले ३९ रन र चन्दन रायले २७ रन बनाए । कर्णालीका लागि विपिन शर्माले ३ विकेट तथा लक्की बम र दीप पौडेलले दुई दुई विकेट लिए । प्रतिउत्तरमा कर्णाली प्रदेशले निर्धारित ओभरमा ९ विकेट क्षतिमा ७६  रन मात्रै बनाउन सक्यो । उसका लागि दिपेश रावतले १५ र रोशन शाहीले १३ रन बनाए । मधेशका लागि पप्पु यादवले ३ विकेट र रोहन शाहले दुई विकेट लिए । खेलमा दुई विकेट लिएर ३९ रन बनाएका मधेश प्रदेशका राहन शाह प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 

आजकै दोस्रो खेलमा गण्डकीले पहिले पहिले ब्याटिङ गर्दै निर्धारित ओभरमा सबै विकेट गुमाउँदै १६२ रन बनायो । गण्डकीका लागि रोहित कुँवरले ५१ रनको अर्धशतकीय पारी खेले । रोहित चन्दले ३७ रन बनाए । कोसीका लागि प्रतिक पोखरेल सौजन घिमिरेले तीन तीन विकेट र प्रेम कामतले दुई विकेट लिए । प्रतिउत्तरमा कोसीले निर्धारित ओभरमा ८ विकेट क्षतिमा १५० रन मात्रै बनाउन सक्यो । उसका लागि दिपु भुजेल र शिवांश बजगाईले समान ३५/३५ रन बनाए भने सौजन घिमिरेले २३ रन जोडे । गण्डकीका लागि सिब्रिन श्रेष्ठले ४ विकेट र अश्विन थापाले दुई विकेट लिए । चार विकेट लिएका गण्डकीका सिब्रिन श्रेष्ठ खेलको प्लेयर अफ द म्याच भए । उनले नगद दुई हजार प्राप्त गरे । 

प्रतियोगिता अन्तर्गत भोली दुई खेल हुनेछन् । पहिलो खेलमा सुदुरपश्चिम प्रदेश र लुम्बीनी प्रदेश तथा दोस्रो खेलमा कोसी प्रदेश र बागमति प्रदेश प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्नेछन् । त्यस्तै म्यान अफ द सिरिजले नगद १५ हजार, उत्कृष्ट ब्याट्सम्यान र बलरले जनही नगद १० हजार तथा प्लेयर अफ द म्याचले नगद दुई हजार प्राप्त गर्नेछन् । 
नेपाल क्रिकेट संघले मलेसियामा हुने १६ वर्षमुनिको ईस्ट जोन कप क्रिकेट प्रतियोगितालाई मध्यनजर गर्दै प्रतियोगिताको आयोजना गरेको हो । एसियन क्रिकेट काउन्सिलको कार्यक्रम अनुसार सो प्रतियोगिता अगामी जेठ ३ देखि १४ गतेसम्म मलेसियामा हुनेछ ।