राप्रपाले निर्णय नदिँदा सरकार विस्तार रोकियो 
2024/03/08, 11:16
 
dd

सुदूरपश्चिममा कांग्रेस नेतृत्वको सरकारका मुख्यमन्त्री कमलबहादुर शाह यसअघिको सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेपछि नागरिक उन्मुक्ति, राप्रपा र स्वतन्त्र सांसदलाई साथ लिएर सरकार विस्तारको कसरतमा जुटेका छन् ।

नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसद तारा जोशी सकारात्मक देखिएपछि बिहीबार राति नै सरकार विस्तारको प्रयास गरिएको थियो । तर एउटा सांसद रहेको राप्रपा अनिर्णित भएपछि मुख्यमन्त्री शाहको प्रयास बिहीबार सफल हुन सकेन । शुक्रबार पनि उक्त प्रयास जारी रहने स्रोतको भनाइ छ ।

मन्त्रिपरिषद्को विस्तार हुने र शपथसमेत राति नै गराउने तयारीका लागि प्रदेश प्रमुख र मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका कर्मचारीहरुलाई राति नौ बजेटसम्म कार्यालयमै बस्न निर्देशन गरिएको थियो ।

सुदूरपश्चिममा सरकारको बहुमत पुग्न २७ मत आवश्यक पर्छ । कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७, स्वतन्त्र १ हुँदा २६ जना पुग्छ । त्यस अवस्थामा राप्रपाका एक सांसद निर्णायक भएका छन् । सुदूरपश्चिमस्थित राप्रपाको पार्टी संगठन र सांसद खेमादेवी बिष्ट कांग्रेस नेतृत्वकै सरकारमा जान इच्छुक देखिएका भएपनि पार्टीको केन्द्रीय नेतृत्वले हतारमा कुनै निर्णय नगर्न भनेकाले राप्रपा सांसदलाई समेत ल्याएर सरकार विस्तार गर्ने मुख्यमन्त्रीको प्रयास बिहीबार सफल हुन नसकेको कांग्रेसका एक नेताले बताए ।

कांग्रेस नेतृत्वको वर्तमान सरकारलाई जोगाइराख्नका लागि राप्रपासमेतलाई मनाउन नागरिक उन्मुक्ति पार्टीका रेशमलाल चौधरी स्वयं खटिएको बुझिएको छ । ‘आर्थिक मामिला र भौतिक पूर्वाधार बाहेक रोजेर मन्त्रालय लिन उहाँहरुको अफर छ,’ राप्रपाका एक नेताले भने, ‘हामी यताबाटै निर्णय गर्नसक्ने अवस्था रहेन । केन्द्रबाट आउने निर्देशनपछि यकिन होला ।’

राप्रपाभित्र भने सरकारमा जाने या नजाने भन्नेमा फरकफरक मत छन् । केहीले सरकारमा गएर उपयोग गर्नुपर्ने मत राखिरहेका छन् भने केहीले भने अहिलेको व्यवस्थाकैविरुद्ध आन्दोलनमा रहेको पार्टी सरकारमा जाँदा आन्दोलन नै प्रभावहीन हुने तर्क गरिरहेको छ । त्यस कारण पनि राप्रपा अनिर्णित छ ।

अर्कोतिर नयाँ गठबन्धनको सरकार गठनका लागि नागरिक उन्मुक्ति पार्टी अनिर्वाय छ । माओवादीका सभामुख बाहेक १०, एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन् । त्यतिले सरकार गठन हुन सक्दैन ।