दार्चुलाको मार्मा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतमाथि सुतिरहेका बेला आक्रमण 
2024/03/08, 11:26
 
ss

दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारी सुतिरहेको बेला अज्ञात समूहले आक्रमण गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार अधिकारी सुतिरहेको अवस्थामा शक्रबार राति अज्ञात समूहले ढुंगामुढा र आगजनी गरेका हुन् । 

प्रमुख प्रशासकीय अधिकृत अधिकारी सुतिरहेको सरकारी आवासमा राति अन्दाजी १:४५ बजेको समयमा ढुंगा प्रहार गरेको र आगो लगाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी गोविन्द भण्डारीले जानकारी दिए । 'उहाँ सुतिरहेको अवस्थामा झ्यालबाट ढुंगामुढा भएर आगजनी गरेको विवरण आएको छ । त्यस विषयमा अनुसन्धान भइरहेको छ,' भण्डारीले भने ।

प्रमुख प्रशासकीय अधिकृतको आवास र इलाका प्रहरी कार्यालय आसपासमा हुँदा पनि कसले त्यस्तो गरेको हो भन्ने खुलेको छैन । प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर प्रहरीकोमा पुगेका थिए । त्यसपछि प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । घटनामा को संलग्न छन् भन्ने खुलिसकेको छैन । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भण्डारीले घटनाको कारण यकिन भइनसकेको बताए । घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट पनि प्रहरी टोली मार्मा गइरहेको बताइएको छ ।

प्रमुख प्रशासकीय अधिकृत अधिकारीले मार्मा गाउँपालिकामा सञ्चालमा रहेका अवैध क्रसर रोक्न र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्न सूचना जारी गरेका थिए । मार्मा गाउँपालिकामा राजश्व नतिरी सञ्चालनमा रहेका दुईवटा क्रसरलाई राजश्वको दायराभित्र आउन पत्र काट्दा पनि नमानेपछि बन्द गर्न सूचना जारी गरिएको थियो । त्यस्तै, सार्वजनिक स्थानमा मदिरा बिक्रीवितरण रोक्न पनि सूचना जारी भएकै राति प्रमुख प्रशासकीय अधिकृतमाथि आक्रमण भएको हो ।

'अवैध क्रसर सञ्चालनमा रोक लगाउन र सार्वजनिक स्थानमा मदिरा बिक्री रोक्नका लागि सूचना जारी भएकै राति यस्तो घटना भएको छ,' मार्मा गाउँपालिकामा कार्यरत एक कर्मचारीले भने, 'उहाँले प्रशासनीक रूपमा पनि कडाइ गर्नुभएको थियो । यी कामबाट रुष्ट रहेकाले त्यस्तो आक्रमण गरेको हुनसक्ने आशंका छ ।' मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामी काठमाडौंमा रहेको बेला यस्तो घटना भएको हो ।