जीर्ण कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी
2024/03/13, 6:18
 
dd

बाजुराको सदरमुकाम मार्तडीमा जीर्ण बन्दै गएको कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राख्ने गरिएको छ । २०३७ सालमा २५ जना राख्ने गरेर बनाएको कारागारमा अहिले ३७ कैदी र १८ जना थुनुवा गरी ५५ जना राखिएका छन् ।

पुरानो शैलीमा निर्माण गरिएको सो कारागारको मर्मतसम्भार नहुँदा जीर्ण बन्दै गएको छ । कारागार निर्माण गरिएको लामो समय हुँदा पनि मर्मतसम्भार नभएपछि कैदीबन्दीलाई बास बस्न र सुत्न निकै समस्या भएको कारागारका चौकिदार रुपेस रावलले बताए।

क्षमताभन्दा बढी कैदी र थुनुवा यसभित्र हुलेपछि अहिले खान, बस्न, सुत्नलगायत सबै कुराको समस्या भएको छ । यो कारागारमा ससाना कोठा छन् । यसमा न त बेडको व्यवस्था छ, न त भुइँमा सुत्नका लागि राम्रो ओछ्यानको व्यवस्था छ ।

केही महिना पहिला प्रदेश सरकारबाट प्राप्त कर्कटपाताले चुहिने छाना टालिएको छ तर एक खाटमा छ जना सुत्नुपर्ने अवस्था आएको छ । दैनिक ६० रुपियाँ नगद र जिन्सी सीता सात सय ग्राम चामलले कैदीबन्दीलाई छाक टार्नुपर्ने बाध्यता छ ।कारागारको अवस्था निकै नाजुक छ । यसको मर्मत सम्भारका लागि धेरै ठाउँमा पहल गरेको भए पनि कतैबाट मर्मतसम्भारको बजेट नपाएको जेलर हङ्शबहादुर बोहराले बताए।

कारागारसँगै रहेको प्रहरी बस्ने भवन पनि जीर्ण बन्दै गएको छ । सो भवन बर्खाको समय चुहिन्छ । भवनको छानामाथि त्रिपाल राखेर सुरक्षाकर्मी बस्दै आएका छन् । कारागार सुरक्षाका लागि १७ जना नेपाली सेना र चार जना नेपाल प्रहरी जवान बस्ने गरेका छन् । कैदीलाई व्यवस्थापन गर्नकै लागि कारागारको नयाँ भवन निर्माणमा विभिन्न ठाउँमा पहल भइरहेको छ ।गोरखापत्र