कैलाली र कञ्चनपुरमा वन,आत्महत्या दुरुत्साहन,कुटपिट मुद्दाका फरार ४ जना पक्राउ
2024/03/16, 4:02
 
fddsssss

कैलाली र कञ्चनपुरबाट वन मुद्दा,आत्महत्या दुरुत्साहन,कुटपिट मुद्दाका फरार ४ जना दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलाली र कञ्चनपुरको बिभिन्न मितिको फैसलाले उक्त मुद्दामा कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका उनीहरु ४ जना पक्राउ परेका हुन्।

लागूऔषध मुद्दामा १६ दिन कैद सजाय र २ हजार जरिवाना ठहर भएका धनगढी वडा नम्बर १२ का महेशबहादुर पुजारा र वन मुद्दामा ९० हजार ७३५ जरीवाना ठहर भएका धनगढी ६ का करन चौधरी र आत्महत्या दुरुत्साहन मुद्दामा २ महिना ४ दिन कैद सजायका साथै १० हजार जरिवाना ठहर भएका घोडाघोडी नगरपालिका–९ का राजेश बिक रहेको कैलाली प्रहरीले बताएको छ।उनीहरुलाई घरबाटै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले बताए।

यस्तै उता कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका-१० का ६२ वर्षीय शेरबहादुर बुढालाई शुक्रवार ईलाका प्रहरी कार्यालय दोधराबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ। जिल्ला अदालत कञ्चनपुरले २०५७ पुस २० गतेको फैसलाले कुटपिट मुद्दामा ४२२ जरिवाना ठहर भई फरार रहेका थिए। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले फरार रहेका बुढालाई घरबाटै पक्राउ गरिएको बताएको छ।