सुदुरपश्चिममा ७८ प्रतिशत रोपाई सकियो 
2020/07/07, 6:52
 
ropai

सुदूरपश्चिम प्रदेशमा कुल खेतीयोग्य जमिनमध्ये ७६ प्रतिशत भन्दा बढी रोपाई सकिएको छ । लगातारको वर्षाले यो वर्ष अरु वर्ष भन्दा चाँडो रोपाइँ सकिएको हो । सुदूरपश्चिम प्रदेशमा एक लाख ८१ हजार ६ सय चार हेक्टरमा धान रोपाइँ हुँदै आएको छ ।

प्रदेशमा सबैभन्दा बढी रोपाइँ कञ्चनपुरमा भएको छ । कञ्चनपुरमा ८० प्रतिशत रोपाई भएको छ भने डोटी र दार्चुलामा समान ६५ प्रतिशत क्षेत्रफलमा रोपाई भएको सुदुरपश्चिम प्रदेश कृषि विकास निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए ।

उनका  अनुसार धानबालीको अन्न भण्डार मानिएको कैलालीमा अहिलेसम्म ७८ प्रतिशत, अछाममा ७० प्रतिशत, बाजुरामा ७० प्रतिशत, बझाङमा ७० प्रतिशत, बैतडीमा ७० प्रतिशत, दार्चुलामा ६५ प्रतिशत र डडेल्धुरामा ७५ प्रतिशत रोपाइँ भएको छ ।

यसपाली मनसुन चाँडो भित्रिएका कारण रोपाइँ पनि चाडो सुरु भएकोले धान उत्पादनमा वृद्धि हुने कृषि निर्देशनालयले जनाएको छ । धानखेतीलाई कुनै असर नपरेमा विगतका बर्षभन्दा यसपाली उत्पादन बढ्ने निर्देशक जोशीको भनाई छ ।