अध्यक्ष रञ्जिताको निर्देशन टेरेनन् आफ्नै सांसदले, मन्त्री भएर देखाइदिए
2024/03/28, 4:52
 
ss

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठको कुनै पनि निर्देशन उनका आफ्नै सदस्य एवं सांसदहरुले मान्ने गरेका छैनन्। हिजो मात्र नागरिक उन्मुक्तिले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। पार्टी अध्यक्ष श्रेष्ठको अध्यक्षतामा टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको थियो। तर सो निर्णय भएको ४८ घण्टा नबित्दै नागरिक उन्मुक्तिकै प्रदेश सभा सदस्यले लत्याएका हुन्।

मख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारबाट समर्थन फिर्ता लिनुको सट्टा उल्टै पार्टी अध्यक्ष श्रेष्ठको निर्देशन विपरीत जिम्मेवारीसहित मन्त्री नै बनेर देखाइदिएका छन्। पार्टी अध्यक्ष श्रेष्ठले यसअघि पनि तत्काल समर्थन फिर्ता लिन निर्देशन नै दिएकी भए पनि सो निर्देशनलाई आफ्नै सांसदले टेरेनन्।

उनले भनेकी थिइन, समर्थन फिर्ता नलिए कारबाही गर्छु तर समर्थन फिर्ता लिनु त कता हो कता पार्टी संरक्षक रेशमलाल चौधरीको लाइनमा उभिएर थप सदस्यले समेत मन्त्री खान पुगे। आज मात्र दुई जना विना विभागीय मन्त्री बनेकाहरु जिम्मेवारीसहित एक जना सामाजिक विकास मन्त्री र अर्का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री बनेर देखाइदिए।

प्रदेशको सामाजिक विकास मन्त्री बनेका लक्ष्मण किशोर चौधरीले त जनताले दिएको म्यान्डेट अनुसार नै सरकारमा सहभागी भएको दाबी गरे। पदभार ग्रहण गर्दै मन्त्री चौधरीले आफ्नो पार्टीले एक वर्ष पहिलेदेखि कांग्रेस नेतृत्वको सरकारलाई समर्थन दिएकोले हाल पदभार ग्रहण गर्नु सरकार सञ्चालनको प्रक्रिया मात्रै रहेको बताए। आजै खुशीराम चौधरीलाई पनि उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ।

जबकी बुधबार टीकापुरमा बसेको नागरिक उन्मुक्ति पार्टीको बैठकले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो। तर त्यसको एक दिन नबित्दै नाउपाका एकथरी मन्त्री सरकारको मन्त्रालयको पदभार ग्रहण गरेका हुन्। सुदूरपश्चिममा नाउपाका ७ सांसद छन्। तीमध्ये पाँचजना मन्त्री नियुक्त भएका छन्। अहिले काङ्ग्रेस नेतृत्वको सरकारमा १८ सांसद रहेको काङ्ग्रेसबाट मुख्यमन्त्रीसहित २ मन्त्री छन् भने ७ सांसद रहेको नाउपाबाट ४ मन्त्री र एक राज्यमन्त्री छन्।