विद्यालयको जग्गा ३५ दिनभित्र खाली गर्ने सहमति
2024/03/31, 1:50
 
ss

कैलालीको राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा ३५ दिनभित्र आफै भत्काउने सर्वपक्षीय–सर्वदलीय सहमति भएको छ । शनिवार विद्यालयमा बसेको सर्वपक्षीय–सर्वदलीय बैठकले अतिक्रमण गरिएको ८ कट्ठा जमिनमा बनेका भौतिक संरचना खाली गराउने निर्णय गरेको हो।

विद्यालयको जग्गामा बसोबास र व्यापार गर्दै आएकाहरूले संरचना खाली गर्ने विषयमा सहमति जनाएका छन्  । विद्यालयको कित्ता नम्बर ९७ मा बसोबास गर्दै आएकाहरूले संरचनाहरू ३५ दिनभित्र आफै भत्काउने सर्वपक्षीय–सर्वदलीय बैठकमा निर्णय गरेको विद्यालयले जानकारी दिएको छ । विद्यालयको विरुद्धमा जिल्ला अदालत पुगेकाहरूको स्टे अडर खारिज भएपछि ३५ दिनभित्र संरचना भत्काउने भएका छन्। विद्यालयले शनिवार बल प्रयोग गरेर संरचना भत्काउने तयारी गरेकोमा राजनीतिक दलहरूका प्रतिनिधिसहितको बैठकले ३५ दिनको समय माग गरेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र हमालले जग्गा अभावका कारण आयोजनाको रकम फिर्ता जाने अवस्थामा रहेकाले खाली गर्न सूचना जारी गरिएको बताए। उनले भने,‘ राजीनामा दिन तयार छु। मैले केही पाउनु छैन। हामी अभिभावकहाँ गएका छौ। हाम्रो अभिभावक नगरपालिका हो। डोजर नहानेसम्म हुँदैन भन्ने पनि छ। तर, फेरि समय दिएर हेरौँ। पहिला खाली गर्नेलाई अबिर र माला लगाउँछु पनि भनेको थिए।’ जग्गा अभावले पाँच वर्षदेखि ९३ करोडको आयोजना निर्माणको चरणमा गएको छैन।

२०७५ सालमा दुई वटा छात्रावास भवनहरू, एक चमेना गृह र एक फिजियोथेरापी भवन निर्माणका लागि योजना परेको थियो। तर, जग्गा अभावका कारण आयोजना कार्यान्वयनको चरणमा गएको छैन। उक्त आयोजना कार्यान्वयनका लागि विद्यालयको नाममा दर्ता स्रेस्ता रहेको ९७ नम्बर कित्ताको ८ कट्ठा जग्गा खाली गर्न विद्यालयलाई समस्या परेको थियो। घोडाघोडी नगरपालिकालाई ठेक्का प्रक्रियाका लागि बोलपत्रको सूचना जारी गर्न विद्यालयले पत्र समेत पठाएको छ। नगरपालिका मार्फत विद्यालयमा दुई वटा छात्रावास भवन, चमेना गृह र थेरापी सेन्टर निर्माणको ठेक्का सम्झौता हुने छ। ३५ दिनसम्म ठेक्काको प्रक्रिया पूरा हुने र संरचना समेत खाली भइसक्ने दाबी गरिएको छ।

घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावतले अतिक्रमण गरिएको जग्गा खाली गर्ने र ठेक्का प्रक्रियाको काम एकसाथ सुरु हुनुपर्ने बताए। राष्ट्रिय माध्यमिक विद्यालयको पूर्वतिर रहेको ८ कट्ठा जमिनमा निर्माण गरिएका घर–टहरा हटाएर विद्यालयले भवन निर्माण गर्ने तयारी छ।