सुदूरपश्चिमका २५ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज, ३ प्रतिशत मात्रै अस्पतालमा (भिडियो सहित) 
2020/07/08, 7:47
 
corona

सुदूरपश्चिमका विभिन्न अस्पतालबाट कुल संक्रमितमध्ये २५ प्रतिशत डिस्चार्ज भएका छन् । हालसम्म नौँ सय ३८ जना कोरोना संक्रमित डिस्चार्ज भएका हुन । प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले नियमित प्रेस व्रिफिङमा मंगलवार साँझ नौँ सय चार जना कोरोना संक्रमित डिस्चार्ज भएको जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म सुदुरपश्चिममा तीन हजार ८ सय २ जना संक्रमित पुगेका छन् । डिस्चार्ज भएको संख्या कुल संक्रमितको झण्डै २५ प्रतिशत हो । 

उनका अनुसार मंगलवार मात्रै ३४ जना संक्रमितलाई विभिन्न अस्पताल र क्वारेन्टिनबाट घर पठाइएको छ । अछामबाट ३०, कैलालीबाट तीन र कञ्चनपुरबाट एक जनालाई डिस्चार्ज गरिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार अहिलेसम्म सबैभन्दा बढी बैतडीका दुई सय ५२, डडेल्धुराका एक सय ८८, डोटीका एक सय ५७, कञ्चनपुरका एक सय तीन र कैलालीका ९९ जना संक्रमितलाई अस्पताल र क्वारेन्टिनबाट डिस्चार्ज गरिएको छ । अछामबाट ९०, बझाङबाट ३४, दार्चुलाबाट १३ र बाजुराबाट दुई जना संक्रमितलाई डिस्चार्ज गरिएको छ । उनीहरुलाई १४ दिनसम्म अस्पतालमा भर्ना गरिएको र कोरोनाको लक्षण नदेखिएपछि डिस्चार्ज गरिएको मन्त्रालयले जनाएको छ । कतिपय भने कोरोना जितेरै डिस्चार्ज भएका हुन् । 

यस्तै सुदूरपश्चिम प्रदेशका एक सय एक जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ भने झण्डै दुई हजार नौँ सय संक्रमति भने क्वारेन्टिन र घरमै रहेका छन । अस्पतालमा उपचार गरिरहेकाहरु कुल संक्रमितको झण्डै ३ प्रतिशत रहेका छन् । मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ४२, मालाखेती अस्पतालमा २०, महाकाली अस्पतालमा १८, सेती अस्पतालमा नौँ, अछाम अस्पतालमा १०, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।

सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार ८ सय नाघेको छ ।