मनसुनी गतिविधि सुदूरपश्चिमभर नै सक्रिय भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वबाट जुन १२ मा प्रवेश गरेको मनसुन सुदूरपश्चिममा पुगेर अहिले सक्रिय भईरहेको मौसमविद मिनकुमार अर्यालले बताए । यसले प्रदेशभरी केही दिनदेखि निरन्तर भारी बर्षा भईरहेको छ । हाल सुदुरपश्चिमका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही धेरै क्षेत्रमा पानी परिरहेको मौसमविद अर्यालले बताए ।
विभिन्न नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने सम्भावना पनि रहेको जनाइएको छ । यस्तै ढल र पानीको राम्रो निकाश नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । मौसमविद गंगा नगरकोटीले वुधवारदेखि मनसुनको न्युन चापिय क्षेत्र बढ्दै गएका कारण बुधबारदेखि कैलालीमा भारी बर्षाको सम्भावना रहेको र त्यसले जोखिमयुक्त क्षेत्रमा बाढीको संभावना रहेको बताईन् । कैलाली र आसपासका क्षेत्रमा भोलिदेखि मनसुन थप सक्रिय हुने र त्यसले ठूला नदीमा पानीको बहाव बढ्नेछ तथा पानीको बहाव बढ्दा जोखिमयुक्त बाढी आउने सम्भावना रहेको मौसमविद नगरकोटीले जानकारी दिईन् ।
उनले बाढीको आउने क्षेत्रका नागरिकलाई तथा पहिरोको जोखिममा रहेका बस्तीमा सचेतना अपनाउनु पर्ने बताइन् । कैलालीमा पछिल्लो २४ घण्टामा ३८ मिलिमिटर बर्षा भएको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले जिल्लाका सम्भावित बाढी आउने क्षेत्रमा सूचना प्रवाह गरेर सचेत गराईएको बताए । स्थानीय तहमै विपद व्यवस्थापन समिति निर्माण गरी प्रकोप न्युनीकरण तथा सचेतना गराउने कामलाई अझै शसक्त बनाईएको प्रमुख जिल्ला अधिकारी बोहराले बताए ।
सुदूरपश्चिम प्रदेश र आसपासका भूभागमा पूर्ण बदली रही थोरै स्थानहरूमा मेगगर्जन, चट्याङग र वर्षा भईरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार वुधवार सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । वुधवार राति पनि सुदूरपश्चिमका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । यता रातिदेखि नै बर्षा भईरहेपनि डुवान भने कुनै पनि स्थानमा नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्रतिक विष्टले डुवानको जानकारी कतैबाट नआएको बताए । कैलाली तथा आसपासका क्षत्रमा सोमबार वेलुका देखि सुरु भएको बर्षा आगामी तीन दिन सम्म जारी रहने र खोलामा पानीको सतह बढ्ने अनुमान गरिएको छ । खोलामा पानीको सतह बढ्दा कैलाली तथा आसपासका क्षेत्रमा बाढीको सम्भावना रहने भन्दै मौसमविदले सचेत रहन आग्रह गरेका छन् ।