सुदूरपश्चिममा नाउपाः नपाउँदा मुख्यमन्त्रीको माग तगडा, पाउँदा पार्टीभित्रै झगडा
2024/04/07, 1:31
 
ss

सुदूरपश्चिम प्रदेशमा अहिले नयाँ सत्ता गठबन्धनभित्र नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री पाउने सहमति भइसकेको छ । तर, नाउपाको आन्तरिक द्वन्द्वले शीर्ष नेताहरूले त्यसलाई सार्वजनिक गरेका छैनन् । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी भित्रै सरकारको विषयमा दुई धार प्रस्ट भइसकेको छ ।

अध्यक्ष रन्जिता श्रेष्ठले विगतमा थारुलाई मुख्यमन्त्री बनाउने भन्दै जनतालाई आश्वासन दिएकाले अहिले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेशमा थारु मुख्यमन्त्री हुनुपर्ने भन्दै शीर्ष नेताहरूसँग लबिङ गरिरहेकी छन् । रेशम चौधरी भने नयाँ सत्ता गठबन्धनको पक्षमा छैनन् ।माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओली नाउपालाई मुख्यमन्त्री दिन तयार भइसकेका छन् । तर, पार्टीभित्रका सबै सांसदहरू एक ठाउँमा उभिनुपर्ने उनीहरूको सर्त छ ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेसका कमल शाह नेतृत्वको सरकार जोगाउन नाउपाका नेता रेशम चौधरीले अन्तिम समयसम्म जोडबल गरेका थिए । विश्वासको मत लिने दिनसम्म पनि चौधरी धनगढीमै बसेर आफ्ना दुई सांसद पनि विश्वासको मत दिन आउने मुख्यमन्त्री शाह र भौतिक मन्त्री प्रकाश देउवालाई रिपोर्टिङ गरिरहेका थिए ।

तर, उता नाउपाका दुई सांसद सहित स्वतन्त्र एक सांसद पनि नाउपा अध्यक्ष रन्जिता श्रेष्ठसँग रहेको तस्बिर सार्वजनिक भए पछि कमल शाहले राजीनामा दिन बाध्य भएका थिए । अहिले पनि नाउपाभित्रको विवाद सुल्झिएको छैन । रेशम पक्षले काठमाडौँमा दुई दिन बैठक आह्वान गरेको थियो । तर, त्यसमा पनि ठोस कुनै निर्णय भएन ।

टिकापुर महाधिवेशनबाट निर्वाचित भएका अध्यक्ष बाहेकका सदस्यहरूलाई अद्यावधिक गराउन दुई दिनको बैठकले जोड दियो । सुदूरपश्चिम प्रदेशमा सबै सांसद एक ठाउँमा उभिँदा मुख्यमन्त्री पाउने विषयमा रेशम चौधरी पनि जानकार थिए । तर, दुई दिनको बैठकले मुख्यमन्त्रीसहित सरकार बनाउने विषयमा कुनै निर्णय नगरेको बैठकमा सहभागी एक नेताले बताए ।

‘पार्टीलाई बलियो बनाउन मिलेर जानुपर्नेमा नेता कार्यकर्ताहरूले जोड दिएका थिए’ ती नेताले भने, ‘एक पटकलाई दुवै पक्षबीच वार्ता र संवाद अगाडि बढाउने कुरा भएको छ ।’ अध्यक्षसँग सहजीकरण गर्ने जिम्मा बैठकले रेशम चौधरीलाई दिएको ती नेताले जानकारी दिए ।यता रन्जिता पक्षका नेताहरू तत्कार सबै सांसद एक ठाउँमा उभिँदा आफूहरूले मुख्यमन्त्री पाउने र जनतालाई दिएको आश्वासन पूरा गर्ने मौका मिल्ने अवसर आएको बताइरहेका छन् । त्यसका लागि रेशम पक्षका सांसदहरू अझै कन्भिन्स नभएको उनीहरूको भनाइ छ ।

‘हामीले निर्वाचनमा राजबन्दी रिहा गर्छौ र सुदूरपश्चिममा थारु मुख्यमन्त्री बनाउँछौँ भनेका थियौँ पछिसम्म हामी त्यही मुद्दा लिएर अगाडी बढ्यौँ ’ ती नेताले भने ‘अहिले हातमा आइसकेको मुख्यमन्त्री पद हाम्रो झगडाले फुत्किन दिनु हुँदैन । ’  उनले सबै सांसदहरू एक ठाउँमा आउँदा सुदूरपश्चिममा मुख्यमन्त्रीसहित केही मन्त्रालय, लुम्बिनीमा पनि थप एक मन्त्रालय मधेस प्रदेशमा पनि एक राज्यमन्त्री केन्द्रमा एक मन्त्री पाउने सम्भावना रहेको र त्यही अनुसार शीर्ष नेताहरूसँग संवाद भइरहेको जनाए ।

अध्यक्ष रन्जिता श्रेष्ठले सांसदहरूलाई काठमाडौँमै बैठक बोलाएकी छन् । उक्त बैठकमा पार्टी बलियो बनाएर लैजाने विषयमा साझा धारणा तयार गर्ने तयारी भइरहेको छ ।  उनले आफूहरूले सुरुबाटै थारुलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएको र अहिले त्यो अवसर आएको हुँदा त्यसमा एकजुट हुन पनि सबै सांसदहरूलाई आग्रह गर्ने जनाइएको छ । तर, मुख्यमन्त्री पाउँदा मन्त्रालय कम पाइने भएको हुँदा केही मन्त्रीहरू बढी मन्त्रालयमै जोड गर्नुपर्नेमा देखिएको नाउपा स्रोतको दाबी छ ।

कांग्रेस नेतृत्वको सरकारमा सुदूरपश्चिममा नाउपाका ७ मध्ये ५ जना मन्त्री थिए । अहिले मुख्यमन्त्री पाउँदा मन्त्रीहरूको सङ्ख्या कम हुनेछ । पार्टीले मुख्यमन्त्री पाउँदा व्यक्तिले मन्त्री पद त्याग गर्नुपर्ने हुँदा मुख्यमन्त्री पाउने सन्दर्भमा पनि एकजुट हुन नसकिरहेको बताइन्छ ।  अध्यक्ष रन्जिता श्रेष्ठले पनि पार्टी भित्रैबाट मुख्यमन्त्री पाउने सम्भावना माथि राजनीति हुँदै गरेको बताएकी छन् । सामाजिक सञ्जालमा उनले थारु मुख्यमन्त्री पाउने सम्भावना विरुद्ध केही थारु नेताहरू नै लागिरहेको आरोप लगाइन् ।

‘हामीले प्रतिकुल परिस्थितिमा धेरै काम गर्न नसके पनि अल्पसङ्ख्यक थारु जातीको सु।प।प्रदेशमा एक मुख्यमन्त्री भए राजनीतिक रूपमा हिजो जुन वाचा हामीले गरेका थियौँ त्यो पूरा हुन्थ्यो भन्ने थियो र छ ’ उनले लेखेकी छन्, ‘हामीले हिजो कुनै अमुक दलले थारुले पाउने कार्यकारी पदमा अवसर दिएनन् भन्दै गुनासो समेत प्रचारका क्रममा गरेका थियौँ तर कस्तो विडम्बना आज पाउन आँटेकै पदविरुद्ध स्वयं केही थारु मानिस नै लाग्दै छन् । ’

उनले सामाजिक सञ्जालमा मुख्यमन्त्री भएर इतिहास बन्दै गर्दा थारु भित्रकै मानिसहरूलाई किन जलन भएको होला, किन राजनीति यति निर्मम भएको होला भन्दै प्रश्न गरेकी छन् ।  नउपाभित्र चरम विवाद हुँदा सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री पाउने सम्भावना पनि बढिरहेको शीर्ष नेताहरूसँगको संवादबारे जानकार नाउपाको एक उच्च स्रोतले बतायो ।  ‘हामीले मुख्यमन्त्री पाउने करिब निश्चित छ ।तर, हाम्रो सबै संसदहरु एक ठाउँमा उभिन सक्नु भएको छैन ।हामी भित्रै झगडा भए मुख्यमन्त्री नेकपा एसले पाउँछ’ स्रोतले भन्यो ‘हिजो मुख्यमन्त्री नपाउँदा एउटा थारु मुख्यमन्त्री हुनुपर्छ भन्दै हिँड्यौँ ।अहिले पाउने अवस्थामा केही सांसदहरू निजी स्वार्थमा लाग्नु भएको छ । यो राम्रो होइन । ’