सुदूरपश्चिममा कांग्रेस र रेशमका सांसदले सभामुख भेटे, संसदीय व्यवस्थाबारे दिए सुझाव
2024/04/09, 1:31
 
ss

सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टी ९नाउपा० को रेशम पक्षले प्रदेश सभाका सभामुखको ध्यानाकर्षण गराएको छ । नाउपाले कारवाही गरेकी समानुपातिक सांसद इन्दिरा गिरीको कारवाही सभामुख भीमबहादुर भण्डारीले सदर गरेपछि उनीहरूले मंगलबार बिहान संयुक्त रूपमा भेटेर ध्यानाकर्षण गराएका हुन् ।

संसदीय प्रणालीअनुसार प्रदेश सभा सदस्यलाई संसदीय दलले मात्र कारवाही गर्न पाउने भएपनि सभामुख भण्डारीले पार्टीको सिफारिसका आधारमा कारवाही सदर गरेकोले लिखित रूपमा ध्यानाकर्षण गराइएको नाउपाका प्रदेश सभा सदस्य घनश्याम चौधरीले बताए । उनले संसदीय दलले कुनै पनि सांसदलाई कारवाही नगरेको भन्दै सभामुखको ध्यानाकर्षण गराइएको बताए ।

नाउपा संसदीय दलका नेता समेत रहेका घनश्याम चौधरीलाई जिम्मेवारी मुक्त गर्दै कैलाश चौधरीलाई जिम्मेवार दिएको पत्र समेत प्रदेश सभा सचिवालय नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले पठाएकी छन् । तर घनश्यामले भने ७ जना सांसदले आफूलाई दलको नेता चयन गरेकाले अहिलेसम्म आफै कायम रहेको दाबी गरेका छन् ।

नाउपासँगै सभामुखलाई भेटेका कांग्रेसका प्रमुख सचेतक बिक्रम धामीले पनि संसदीय अभ्यासअनुसार अघि बढ्न सभामुख भण्डारीलाई सुझाव दिइएको बताए । पार्टीले गरेको सिफारिसका आधारमा सांसदलाई कारवाही गर्न थाल्यो भने अन्य दलका सांसद समेत नरहने अवस्था आउने भएकाले सभामुखको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो ।