सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिको पनि दाबी
2024/04/10, 4:55
 
dd

नागरिक उन्मुक्ति पार्टी ९नाउपा० ले सुदूरपश्चिम प्रदेशमा सरकारको नेतृत्व लिनगरि अगाडि बढ्ने विषयमा छलफल थालेको छ। बुधबार नाउपाका संरक्षक रेशम चौधरीको उपस्थितिमा आर्थिक मामिला मन्त्री घनश्याम चौधरीको सरकारी निवासमा सांसदहरूबीच प्रदेश सरकारको नेतृत्व लिनेगरि अघि बढ्ने विषयमा छलफल भएको हो।

छलफलमा सहभागी सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले भने,“नयाँ गठबन्धनमा मुख्यमन्त्री हाम्रो बटमलाइन हो। संरक्षक ज्यूले सरकार नेतृत्व लिनेगरि एकमत भएर अघि बढ्न हामीलाई सुझाव दिनुभएको छ,” उनले भने,“अर्को चरणमा फेरि बसेर निष्कर्षमा पुग्ने कुरा भएको छ।” उनले संरक्षकसहितको बैठकमा यो बीचमा भएका घटनाक्रमको समेत समीक्षा भएको बताउँदै अब एकमत भएर अघि बढ्ने कुरामा छलफल केन्द्रीत भएको सुनाए।

उनले नाउपामा भएको बिवाद कसरी समाधान गर्ने भन्ने बिषयमा पनी छलफल भएको भन्दै हाम्रो नेतृत्वमा सरकार बनेपछि यो बिवाद साम्य हुने उनको भनाई छ। छलफलमा नाउपाले प्रदेश सभा सदस्यबाट पदमुक्त भएकी इन्दिरा गिरीसहितका सबै सांसद सहभागी थिए।

संघमा नयाँ समीकरण बनेपछि नाउपामा अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरीबीच विवाद सिर्जना भएको थियो। रञ्जिता सुदूरपश्चिममा नयाँ गठबन्धनको पक्ष र रेशम कांग्रेसको पक्षमा उभिएका थिए। रेशमको जोडबलमा नाउपाका ७ मध्ये ५ जनालाई मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्री बनाएका थिए। तर रञ्जिता पक्षका कैलाश र टीका थापा शाहलाई विश्वासको मत नदिने पक्षमा उभिएपछि उनले २२ चैतमा पदबाट राजीनामा गरेका थिए।