सांसद भट्टको सुझाव- व्यापारिक प्रयोजनका निजी अस्पताललाई सरकारले नियन्त्रणमा लिनुपर्छ
2024/04/12, 2:49
 
narayan bhatta

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्टले उपचारको नाममा व्यापार गरिरहेका निजी अस्पताललाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गरेका छन् । 

शुक्रबार राष्ट्रिय सभामा पेस गरिएको ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिता सम्बन्धी’ सङ्कल्प प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले स्वास्थ्य जस्तो संवेदनशील विषयमा पनि गम्भीर नभई उपचारको नाममा व्यापार गरिरहेको निजी अस्पताललाई नियन्त्रणमा ल्याउने दायित्व सरकारको भएको बताए ।

उनले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्छ भन्ने तर त्यस अनुसारको काम नगरेको भन्दै सरकारको आलोचना पनि गरे । सांसद भट्टले सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै प्रादेशिक अस्पतालले भन्न नसक्ने भन्दै तत्काल दशरथ चन्द मेडिकल कलेज सञ्चालनमा ल्याउन पनि सरकारलाई दबाब दिए । 

उनले भने, ‘एउटा गरिब मान्छेले मृत्युवरण गर्नुपर्ने प्राइभेट हस्पिटलमा गयो, नर्मल ज्वरो आएको छ भने पनि दुनियाँभर चेक गरेर १० हजार भन्दा कममा डाक्टरले हात नै लगाउँदैन । सरकारी हस्पिटलमा गयो, बेड खाली हुँदैन । मान्छेले क्युमा बस्नुपर्ने हुन्छ । त्यस कारण यी संवेदनशील कुराहरूलाई हामीहरूले उपचारको नाममा व्यापार भइरहेका छ भने त्यसलाई नियन्त्रण गर्नु राज्यको दायित्व हो । जनताको बाँच्न पाउने अधिकार मौलिक हक भित्र रहेको हुनाले त्यसको संरक्षण गर्नु सबै तपाई हाम्रो दायित्व हो भन्ने मलाई लाग्दछ । सरकारको को छ, प्रधानमन्त्री को छ भन्ने कुरालाई ख्याल नगरी जनताले बाँच्न पाउनु पर्छ ।’

सांसद भट्टले अकालमा नागरिकको ज्यान जाने अवस्था आउन नदिनका लागि स्वास्थ्य बिमा कार्यक्रमलाई प्रभावकारी बनाउन पनि सरकारलाई सचेत गराए ।