सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आज (मंगलबार) काठमाडौं नल्याइने भएको छ । अब उनलाई भोलि (बुधबार) मात्रै काठमाडौं ल्याइने प्रहरीले जनाएको छ ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा बयान लिन लामिछानेलाई आजै ल्याउने तयारी थियो । तर, कागजपत्र नमिलेकोले गोरखा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रविलाई भोलिमात्रै काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकृतले लोकान्तरलाई जानकारी दिए । ‘आज काठमाडौं ल्याउने भनिए पनि तयारी नपुगेकाले बुधबार मात्रै ल्याउने तयारी छ,’ ती प्रहरी अधिकारीले भने ।
स्वर्णलक्ष्मी सहकारीको रकम गोरखा मिडियामा समेत गएको देखिन्छ । रवि र उनका पार्टनर एवं गोरखा मिडियाका अध्यक्ष जीबी राईले संयुक्त नाममा गाडी खरिद गरेको देखिन्छ । रवि जोडिएको गोरखा मिडियामा स्वर्णलक्ष्मीबाट २ करोड २८ लाख ९८ हजार ४ सय ८० रुपैयाँ पेस्कीबापत गएको देखिन्छ । स्वर्णलक्ष्मीबाट गोरखा मिडिया नेटवर्कका तत्कालीन अध्यक्ष जीबी र प्रबन्ध निर्देशक रविको संयुक्त नाममा दुईपटक ऋण लिइएको थियो ।
उनीहरूको संयुक्त नाममा २०७८ भदौ ७ गते ‘फर ह्वाट एभर लोन’बापत ४६ लाख ९८ हजार ऋण लिएकोमा अझै १४ लाख ७६ हजार ३ सय ६७ रुपैयाँ चुक्ता गर्न बाँकी छ । त्यस्तै, २०७८ पुस १ गते ईको सेभेन सोएट भ्यान खरिदका लागि जीबी र रविकै संयुक्त नाममा ४६ लाख ८८ हजार ऋण लिएको पाइएको छ । त्यसमध्ये पनि २९ लाख ५८ हजार ४३३ रुपैयाँ तिर्न बाँकी रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।