सुदूरपश्चिममा खेतीयोग्य जमिन घट्दै, तराईभन्दा पहाडका जिल्लामा बढी जमिन बाँझो
2024/04/23, 1:59
 
ss

सुदूरपश्चिम प्रदेशमा ५१ हजारभन्दा बढी जमिन बाँझो रहेको एक तथ्यांकले देखाएको छ । कृषि उपकरण, मल, बीउ र सिँचाइ अभाव, जनशक्ति पलायन, बसाइँसराइ लगायतका कारण बाँझो जमिन बढ्दै गएको हो ।

सुदूरपश्चिम प्रदेशमा ५१ हजार २७० हेक्टर जमिनमा खेती नभएको प्रदेश कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेशमा कुल कृषियोग्य जमिन तीन लाख ६९ हजार ७९६ हेक्टर छ भने तीन लाख १८ हजार ५२६ हेक्टर जमिनमा मात्रै कृषि भएको छ ।

निर्देशनालयका अनुसार कैलालीमा ९० हजार, कञ्चनपुरमा ५९ हजार ६०२ र अछाममा ५६ हजार ३४७ हेक्टर जमिन कृषियोग्य छ । चौथो नम्बरमा बाँझो जमिन छ । प्रदेशका नौ जिल्लामध्ये बाँकी जिल्लामा कृषियोग्य जमिन ३२ हजार हेक्टरभन्दा कम छ । डोटीका तीन हजार २७६, डडेल्धुरामा ११ हजार ६१६, बैतडीमा ३१ हजार ४८५, बाजुरामा २४ हजार ३१९, बझाङमा ३४ हजार ६०७ र दार्चुलामा २९ हजार ५४४ हेक्टर जमिन कृषियोग्य छ ।


ती कृषि योग्य जमिनमध्ये सबैभन्दा बढी १३ हजार ९३४ हेक्टर जमिन अछाम जिल्लामा बाँझो छ । सबैभन्दा कम डडेल्धुरा जिल्लामा ९४९ हेक्टर जमिन बाँझो छ । तुलनात्मक रूपमा तराईभन्दा पहाडका जिल्लामा बढी जमिन बाँझो छोडिएको छ । सुदूरपश्चिम आर्थिक सरोकार मञ्चका संयोजक उपप्राध्यापक डा। राजेन्द्रवीर चन्दले पहाडी जिल्लाबाट हुने बसाइँसराइ, युवा जनशक्ति पलायन, सिँचाइ, मल र बीउ उपलब्धता नभएको कारण उत्पादकत्व कम हुनु लगायतका कारणले पहाडी जिल्लामा बढी जमिन बाँझो रहन गएको बताए ।

उनले कृषिमा गरेको मिहिनेतले वर्षभरी काम गरी चार महिना मुस्किलले खान पुग्ने, स्थानीयस्तरमा अन्य रोजगारीको अवसर नहुनु लगायतका कारण बसाइँ सर्नुका साथै जनशक्ति पलायन भएपछि जमिन बाँझो रहन गएको बताए । निर्देशनालयको तथ्यांकअनुसार दार्चुलामा ६ हजार ७१९, बझाङमा ६ हजार ३९३, बाजुरामा ४ हजार १६४, बैतडीमा ५ हजार ७८५ र डोटीमा ६ हजार ७७६ हजार हेक्टर जमिन बाँझो छ भने सबैभन्दा बढी कृषियोग्य जमिन रहेको कैलालीमा तीन हजार ५५० र कञ्चनपुर तीन हजार हेक्टर जमिन बाँझो छ ।

उपप्राध्यापक डा।चन्दले तराईमा कृषियोग्य जमिन घडेरीका लागि होल्ड भएका कारण बाँझो रहेको बताए । प्रदेश कृषि विकास निर्देशनालयका सूचना अधिकारी केशव पाण्डेले पनि जनशक्ति पलायन, बसाइँसराइ, कृषिबाट हुने आम्दानीले घर गुजारा नचल्नु, कृषिका लागि आवश्यक आधारभूत सुविधाको अभावलगायतका कारणले जमिन बाँझो रहन गएको बताए ।

कृषियोग्य जमिन भए पनि कृषि कार्य नगरिएको जमिनमध्ये कतिपय जमिन चरण क्षेत्र, निजी वन वनेलो, पोखरी ताल रहेपछि त्यस्तो आधाभन्दा बढी जमिन बाँझो रहेको बताए । उनले कृषि गणना २०७८ ले सुदूरपश्चिम प्रदेशमा योभन्दा बढी जमिन बाँझो देखिएको बताए । कृषि गणनामा कृषक परिवारले सुदूरपश्चिम प्रदेशमा एक लाख ९२ हजार ८८५ हेक्टर जमिनमा कृषि गरिरहेको उल्लेख गरिएको छ । सोमध्ये एक लाख १६ हजार ५६४ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको उल्लेख छ ।

कुल कृषियोग्य जमिनमध्ये बाजुरा २८.८८, बझाङ्गमा ३३।७४, दार्चुलामा १७.८४, बैतडीमा १४.६३, डडेल्धुरामा ३२.३१, डोटीमा ३८.२४, अछाममा ३२.२८, कैलालीमा ८७.७४ र कञ्चनपुरमा ८९.२१ प्रतिशत जमिनमा सिँचाइ सुविधा पुगेको कृषि गणना प्रतिवेदनमा उल्लेख छ । कृषियोग्ग जमिन बाँझो हुन नदिन कृषिको उत्पादकत्व बढाउन कृषियन्त्र, बीउ, बाह्रै महिना सिँचाइ सुविधा, कृषकलाई सीप तालिम उपलब्ध गराउनुका साथै स्थानीयस्तरमा रोजगारीको व्यवस्था गर्नुपर्ने उपप्राध्यापक डा। चन्दले बताए । उनले यसका साथै पहाडी जिल्लामा पनि स्वास्थ्य, शिक्षा, रोजगारी, यातायात, विद्युतलगायत आधारभूत सेवा उपलब्ध गराउन आवश्यक रहेको बताए । कारोबारबाट