बैतडीका चिकित्सकको आन्दोलन फिर्ता, अस्पतालका सेवा खुले
2024/05/18, 6:55
 
ss

जोखिम भत्ता पाउनुपर्ने माग राख्दै आन्दोलनमा उत्रिएका जिल्ला अस्पताल बैतडीमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका छन्। गएको आइतबारदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलनमा उत्रेका चिकित्सक र स्वास्थ्यकर्मीहरु पुनः काममा फर्केका हुन्।

आन्दोलन फिर्ता भएसँगै चिकित्सक र स्वास्थ्यकर्मी काममा फर्किएका  सबै सेवाहरू सुचारू भएका अस्पतालका प्रमुख डाक्टर सुशील बिकले बताए। स्वास्थ्यकर्मी र चिकित्सकहरुले उठाएका मागका विषय सम्बोधन गर्नका लागि १० दिनको समय माग गरिएकाले अस्पताल विकास समितिसँगको सहमतिमा आन्दोलन स्थगित गरिएको जनाएको छ।

गएको ९ महिनादेखि अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम नपाएकाले चिकित्सक तथा स्वास्थ्यकर्मीहरू आकस्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका थिए। चिकित्सक र स्वास्थ्यकर्मीहरुको माग सम्बोधनका लागि मन्त्रालयले मागेका आवश्यक कागजात र अन्य प्रक्रियाहरु पुर्‍याउनका लागि आन्दोलन स्थगित गर्ने सहमति भएको हो। 

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले जिल्ला अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र प्रयोगशालाकर्मीहरुको अतिरिक्त भत्ता, जोखिम भत्ता बापतको रकम निकासा नदिँदा समस्या भएको थियो। जिल्ला अस्पतालका सेवाहरु सुचारु भएपछि बिरामीहरुलाई सहज भएको छ। स्वास्थ्यकर्मी र चिकित्सकहरु आन्दोलित भएपछि बिरामीहरुलाई मार्का परेको थियो।