युवा नमुना संसद अभ्यास कार्यक्रम सम्पन्न
2024/05/18, 7:00
 
ss

धनगढीमा सञ्चालित युवा नमुना संसद् अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रम आज एक समारोहका विच सकिएको हो । 

कार्यक्रममा बोल्दै  राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बिदेशमा गएका नेपालीहरुका सेल्फी देखेर उतै तर्फ नदौडिन आग्रह गरेका छन् । प्रदेश युवा परिषद सुदुरपश्चिमद्वारा धनगढीमा आयोजित नमुना युवा सांसद अभ्याय कार्यक्रमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले बिदेशमा जाने नेपालीहरुका सेल्फी देखेर बिदेश तर्फ दौडिने परम्परा हावी भएको भन्दै चिन्ता ब्यक्त गरे ।

नेपालमा केही भएन सबै खतम भइहाल्यो भन्ने भास्य श्रृजना गरिएका कारण पनि युवाहरु बिदेशिरहेको कार्यकारी उपाध्यक्ष बस्नेतले बताए । बस्नेतले भोलीको स्थानिय तह प्रमुख, सांसद, मन्त्री, प्रधानमन्त्री देखी अधिकृत, सचिव, उप सचिव समेत हुने अहिलेको युवानै भएका कारण सबैले आ आफ्नो भविश्य नेपालमै खोज्न आग्रह गरे ।

कार्यक्रमको समापन गर्दै प्रदेश युवा परिषद् सुदूरपश्चिमका कार्यकारी उपाध्यक्ष युवराज कुँवरले सरकारहरुले ल्याउने आगामी बजेटको सवालमा खबरदारी गर्नुपर्ने बताए । उनले संघ, सुदूरपश्चिम प्रदेश र स्थानीय सरकारहरुले ल्याउने आगामी बजेटको विषयमा युवाहरुले खबरदारी गर्नुपर्ने जनाए। यस्तै उनले युवाहरुलाई आफ्नो आफ्नो पालिकाको बजेटमा युवाका सवाल सम्बोधनका लागि खबरदारी गर्न आह्वान गरे । बजेटका विषयमा खबरदारी गर्दै युवा, खेलकुद र युवालाई व्यवसाय रोजगारीसँग जोडिनका लागि सरकारले गर्नुपर्ने कुराहरुमा युवाले नै खबरदारी गर्नुपर्ने उनको भनाई छ ।

४ दिनसम्म सञ्चालित युवा नमुना संसद् अभ्यास कार्यक्रममा सुदुरपश्चिमका ९ वटै जिल्लाबाट युवा सहभागी थिए । परिषदले यसबाट भविश्यको सक्षम नेतृत्व उत्पादन हुने बिश्वास ब्यक्त गरेको छ ।