एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०ः गरिमा पोलिक्लिनिकको साथ
2024/06/11, 6:45
 
ss

‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होम जोडिएको छ । धनगढीमा रहेको गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विधा प्रायोजन गरेर साथ दिएको हो । अवार्डका आठ वटा विधामध्येको खेलकुदमा जीवन समर्पण गरेका खेलकुदकर्मीलाई प्रदान गरिने लाईफ टाईम एचिभमेन्ट अवार्ड विधालाई गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले प्रायोजन गरेर साथ दिएको हो ।

प्रायोजन सम्बन्धी सम्झौतापत्रमा गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमका तर्फबाट डाक्टर निराजनदत्त शर्मा पौडेल र नेपाल खेलकुद पत्रकार मञ्च कैलालीका महासचिव हरि जोशीले हस्ताक्षर गरे । सम्झौतापछि प्रतिक्रिया दिँदै डाक्टर पौडेलले अवार्डसँग जोडिन पाउँदा खुसी लागेको बताउँदै विगतदेखि अवार्डलाई साथ दिदै आएको र आगामी दिनमा पनि सहयोग गर्ने बताए । उनले आफूहरू पनि स्वास्थ्य क्षेत्रमा सक्रिय रहँदै आएको अवस्थामा सामाजिक उत्तरदायित्व मानेर देशका गहना मानिने खेलकुदकर्मीहरूलाई सम्मान गरिने कार्यक्रममा जोडिएको बताए । कैलालीको धनगढीस्थित गरिमा पोलिक्लिनिक तथा राजधानी डेन्टल होमले विभिन्न स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ । 

अवार्डको मुख्य प्रायोजकमा धनगढीको सुदुरपश्चिमाञ्चल एकेडेमी रहेको छ । पाँचौ संस्करणको ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०८०’ मार्फत वर्ष २०८० मा उच्च प्रदर्शन गरेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सफल खेलाडी र प्रशिक्षक गरी विभिन्न ८ विधामा अवार्ड प्रदान गरिने छ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिने भएको हो ।  उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५÷३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफटाईम एचिभमेन्ट अवार्डका विजेतालाई २५÷२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।