शंकर पोखरेलले माओवादी द्वन्द्वलाई हिंसा भनिरहे, छेउमै बसेका लेखराज टोलाएर सुनिरहे
2024/09/25, 5:07
 
dd

पार्टीका केन्द्रीय सदस्यसँग आयोजना गरिएको समीक्षा कार्यक्रमका लागि एमाले महासचिव शंकर पोखरेल बुधबार बिहान कैलालीको धनगढी पुगे । धनगढीमा प्रेस चौतारी नेपाल कैलाली शाखाले पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा एमाले सचिव लेखराज भट्ट लगायतका नेताहरूको पनि उपस्थिति थियो । सुरुवातमा सहकारी प्रकरण र त्यसमा जोडिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे महासचिव पोखरेलले सञ्चारकर्मीको प्रश्नको जवाफ दिए । उनले लामिछानेले सहकारी प्रकरणमा क्लिन चिट पाएको भन्दै भ्रम फैलाएको र अनुसन्धानमा असहयोग गरेको आरोप लगाए ।

सोही प्रकरणमा बोल्दाबोल्दै महासचिव पोखरेलले नेपालको राष्ट्रिय राजनीतिलाई पनि जोडिहाले । ‘जनतामा बढ्दो निराशा चिर्न, आर्थिक संकटलाई अन्त्य गर्न र युवाहरूको विदेश पलायनलाई रोकेर राष्ट्र निर्माणमा लगाउनका लागि दुई ठूला दल मिलेका हौँ,’ उनले भने, ‘मुलुकको लोकतन्त्रलाई सही दिशा प्रदान गर्नका लागि पनि नेपाली कांग्रेस र नेकपा एमाले मिलेका हौँ ।’ दुई ठूला दल मिलेपछि धेरै सकारात्मक कार्यको सुरुवात भएको दाबी गर्दै पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रसंग पनि झिके । ‘नयाँ सरकार गठन भएपछि सत्ताबाट बाहिरिनुपरेका प्रचण्डको छटपटीले मुलुकको राजनीतिलाई तनावपूर्ण बनाउने काम गर्‍यो,’ उनले भने, ‘सरकार गठन भएको सय दिन नपुग्दै उहाँले संसदमा जुन प्रकारका अभिव्यक्ति दिनुभयो, त्यो अभिव्यक्ति असंसदीय र अराजनीतिक थियो ।’

त्यसपछि महासचिव पोखरेलले निकाले माओवादी द्वन्द्वको विषय । माओवादी द्वन्द्वकालमा उत्पन्न भएको हिंसाको आलोचना गर्दा हिंसा शब्द असंसदीय हो भनेर संसद रोक्ने काम भएको भन्दै पोखरेलले आपत्ति जनाए । ‘माओवादी द्वन्द्वकालमा हिंसा मात्रै भएन यथार्त रूपमा भन्नुहुन्छ भने त्यो समयमा आतंक सिर्जना गर्ने काम पनि भयो,’ पूर्वमाओवादी तथा एमाले सचिव लेखराज भट्टको छेउमै बसेका पोखरेलले भने, ‘त्यो समयमा दिनदहाडै बसमाथि आगजनी गर्ने काम भएको थियो । राति सुतेकोहरूलाई आगो लगाएर हत्या गर्ने घटना भएका थिए । त्यो हिंसा मात्रै होइन, आतंक पनि हो ।’

पोखरेलले सशस्त्र द्वन्द्वलाई हिंसा र आतंकभन्दा लेखराजलाई भने छटपटी भइरहेको देखिन्थ्यो । उनी पोखरेलको अभिव्यक्ति टोलाएर सुनिरहे । पोखरेल यत्तिमै रोकिएनन् । उनले माओवादी द्वन्द्वको समयमा भएका हिंसा, आतंकलगायतका घटना स्वीकार्य छैनन् भन्ने कुरा माओवादीले नै स्वीकार गरिसकेको बताए । ‘माओवादीसहितका पक्षले सत्यनिरुपण मेलमिलाप र बेपत्ता छानबिन आयोग गठन गर्दा भएको सहमतिले नै त्यो कुरालाई प्रमाणित गर्छ,’ उनले भने, ‘माओवादी आन्दोलनभित्र कार्यकर्ताको बलिदान भने समाजको परिवर्तनका लागि थियो । उनीहरूको भने हामीले आलोचना गरेका छैनौँ । तर, हिंसाको विरोध गर्नु अराजनीतिक र असंसदीय होइन । ती हिंसा भविष्यमा नदोहोर्‍याउनका लागि हामीले शान्ति प्रक्रिया अगाडि बढाएका हौँ ।’

लेखराज माओवादी द्वन्द्वलाई हिंसा भन्ने संस्थागत निर्णय एमालेले नगरेको बताउँछन् । यद्यपि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकै कारण यो अवस्था आएको उनको बुझाइ छ । आन्दोलनलाई निष्कर्षमा नपुर्‍याएर बीच बाटोमा नै छोड्नु प्रचण्डको गल्ती भएको उनको भनाइ छ । ‘प्रचण्डले नै बाटो बिराएर यहाँ पुर्‍याएका हुन् । अरुले के भने भन्ने अर्थ हुँदैन । एमालेमा संस्थागत रूपमा हिंसा भन्ने निर्णय भएको छैन । कुन व्यक्तिले के भन्छन् भनेर सिरियस्ली लिएको छैन,’ लेखराज भन्छन् ।